चुनौतीका बिच प्रदेश सरकार अगाडि बढिरहेको छः मन्त्री साह

राजविराज, २६ मंसिर । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संवैधानिक तथा कानूनी अड्चनका कारण प्रदेश सरकार संघर्षका बीच अगाडि बढिरहेको बताएका छन् ।

सप्तरी जिल्ला संसदीय क्षेत्र नम्वर २ (क)का प्रदेश सभा सदस्य साहले राजविराजमा शुक्रवार सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । जनताको संघर्षबाट प्राप्त संघीयतालाई समाप्त पार्ने षडयन्त्र संघीय सरकारले गरिरहेको बताउँदै उनले भने ‘संवैधानिक तथा कानूनी अड्चनका कारण प्रदेश सरकारले चाहेर पनि द्रूत गतिमा काम गर्न सकिरहेको छैन, हरेक पाइलामा संघर्ष गरेर अगाडि बढ्नुपर्ने बाध्यता छ ।’

प्रदेश सरकारले संविधानलाई टेकेर समेत अगाडि बढ्दा संघले विभिन्न बहानामा अवरोध पुर्याउँदैआएको चर्चा गर्दै काममा बाधा अड्चन आउने गरेकोले कानूनी बाटो अवलम्बन गरेर भए पनि आफुहरु अगाडि बढिरहेको बताए । प्रदेश सरकारलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्नकालागि २३ ओटा कानून निर्माण गरिसकेको जानकारी दिँदै मन्त्री साहले भने ‘मधेशी जनताको चाहना अनरुप आफ्नो शासन आफ्नै प्रशासन भने चाहना अनरुप प्रदेश सरकारले ल्याएको प्रहरी ऐन ल्याएर प्रहरी भर्ना गर्न ओज्दा अवरोध पुर्याएपछि सर्वोच्चमा रिट दायर गरेर हामी अगाडि बढ्ने तयारीमा छौं भने लोकसेवा आयोगले कर्मचारी भर्ना रोकिदिएको थियो, अहिले प्रदेश लोकसेवाले विभिन्न पदमा कर्मचारी भर्नाकालागि दर्खास्त आह्वान गरिसकेको छ ।’

प्रदेश सरकारको विषयमा भ्रम फैलाएर संघीयतालाई नै धरापमा पार्ने काम भईरहेकोले त्यस्ता भ्रममा नपर्न समेत मन्त्री साहले जनमानसमा आग्रह गरे । संघीयतालाई मजबुत बनाउन जस्तोसुकै चुनौतिको सामना गर्दै प्रदेश सरकार अगाडि बढिरहेको भन्दै उनले आआफ्नो स्थानबाट सहयोगकालागि आग्रह गरे ।

आफु प्रदेश सभा सदस्यमा जितेर गएपछि प्रदेश सरकारको मन्त्रीको जिम्मेवारीमा रहेको तथा पार्टीको जिम्मेवारी समेत काँधमा रहेको अवस्थामा जनतासँग समय दिन नसकिरहेकोले सबैको सहजताकालागि राजविराजमा सम्पर्क कार्यालय स्थापना गरेको उनले बताए । कार्यालयमा कर्मचारीलाई अत्याधुनिक सञ्चार सुविधा समेत उपलब्ध गराई जनताका गुनासालाई आफुले तुरुन्त थाहा पाउन तथा अन्य समस्या एवम् गुनासाहरुमाथि सुनुवाई गर्न सम्पर्क कार्यालयले प्रभावकारी भूमिका खेल्ने मन्त्री साहले प्रतिवद्धता व्यक्त गरे । गृह जिल्लामा रहँदा जनताको घरदैलोकासाथै केही समय कार्यालयमा समेत दिने उनले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, पार्टीका केन्द्रीय सदस्यहरु अशोक कुमार यादव, भीमराज यादव, सत्यनारायण यादव, भीम तामाङ्ग, अमृत साफी, प्रदेश २ का मुख्य सचिव शम्भु झा, प्रेस नेपाल प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादव, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा कुमारी मण्डल, पार्टीका जिल्ला अध्यक्ष केदार यादव, यूवा नेता किशोर कुमार यादव केसी, महिला नेता मीरा यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन जसपाका प्रदेश सचिव दिनेश कुमार यादवले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस