इन्द्र शयनः कथा

 

नन्दलाल आचार्य

विहानी जवान हुँदासम्म पनि मन खुम्च्याएर घाम झुल्किएको थियो । अघि बिहानी पख मलिन स्वर पारेर कुखुराका भालेहरू बासिरहेका थिए । पहिलाजस्तो लामो श्वास फेरेर र ठूलो आवाज पारेर बास्न नसकेको प्रतीत हुन्थ्यो । पोथीहरू खोरमै अत्तालिएका थिए । आफ्नो स्वभाविक स्वभावभन्दा दबेको र निरीह चालमा थिए ।

घाम लागेर पनि फत्तेपुर–राजविराज सडकमा अँध्यारो व्याप्त थियो । सडक किनारको चन्द्रनहर भन्दै थियो– मैले तँलाई छोएको पनि छैन । मात्र देखेको थिएँ । तेरो मनको आँधीतुफानको आवाज भने कानैमा ठोक्किएको थियो । मैले चिच्याएकै हो । प्रलयको सङ्केत दिएकै हो । बुझ्नेले कुरा नबुझेपछि कसको बाउको के लाग्दो रहेछ र !

वरपर उभिएका सिसौ, सिमल र आँपका रुखहरू पनि एक तमासले दृष्य हेरिरहेका थिए । सायद मन थाम्न नसकेर शिर निहु¥याइरहेका थिए । सडकखण्डमा आउने खाँडो, महुली, सुन्दरी खोलाहरूले पनि अश्रुधारा बगाउँदै भन्दै थिए– ‘पहिले, पहिले राजविराज जाँदा बडो उत्साहले जान्थिस् । मेरो परममित्र अक्षान्तको सामिप्यमा दुई÷चार दिन भुल्न पाइने भो भन्थिस् । गाडीमा भेटिएका अपरिचितहरूसँग परिचितको जस्तो बोलीव्यवहार गर्न मन खुम्च्याउँदैनथिस् । यद्यपि आज दाजुभाइ र शुभचिन्तकका बीचमा सुतेर जाँदै छस् । आफ्नो सिटमा अशक्तहरूलाई बसाएर आफू उभिने तँ आज मान्यवरकै सामु किन लम्पसार पर्दै छस्, इन्द्र ?’

खेतबारीका फाँटहरूले समेत प्रश्न सोध्दै थिए; ‘ए इन्द्र ! तँ त कहिलेकाँही नखरा पनि पार्थिस् । हाकिमहरूको ध्यान तान्न नानाभाँतीका क्रियाकलाप पनि गर्थिस् । कहिले हकारपकार खान्थिस् त कहिले स्यावासी भेट्थिस् । तँसँग गाँसिएका अनगिन्ती संस्मरणमध्ये एउटा चाहिँ मलाई सुनाउनै मन लाग्यो । के सुन्न तयार छस् ?’

ऊ ट्याक्टरको डालीमा लमतन्न परेर सुतेको थियो । वरवर दाजुभाइ पुर्पुरोमा हात लगाएर झोक्राइरहेका थिए । कसैले उसको सिरानी मिलाइदिन्थ्यो । घरिघरी खुट्टा देखिँदा कसैले कपडाले छोपिदिन्थ्यो । ट्याक्टर एकतमासले दक्षिणतिर हुँइकिरहेको थियो । खेतको फाँट भन्दै गयो, ‘नबोले नबोल ! मेरो मुख थुन्न आउने होइनस् क्यारे । तँ शून्यमा पुगेको भए पनि म भन्छु । तेरा कानसम्म पु¥याउँछु । एक पटक तँ सैनिक पोसाकमा काँधमा बन्दुक बोकेर साथीहरूसँग लहरै ओरालो झर्दै थिइस् । त्यत्तिकैमा अघिल्लो साथीको हातमा राइफल थम्याएर तँ मेरै छाती टेक्तै खेतैखेत दौडिस् । अरू छक्क परेर हेर्दै थिए । तँ एकाएक खाँडो नदीको भेलमा हाम्फालिस् र डुब्दै, उत्रँदै गरेको बच्चालाई पाखा निकालिस् । बच्चाले तत्कालै प्राथमिक उपचार भेट्टायो र प्राण रक्षा भयो । सैनिकको इज्जत चुलियो । हाकिमको स्यावासीको हात तेरो थाप्लोमा प¥यो ।’

ट्याक्टर सुस्तसुस्त हिँड्दै थियो । कतारबाट आकाश दाइले फोनमा साल्दाइसँग भने; ‘कहाँ जाँदै हुनुहुन्छ, दाइ ?’
‘कहाँ जानू र ? विपत्तिले घेरिहाल्यो । पोष्टमार्टमका लागि गजेन्द्रनारायण अञ्चल अस्पताल राजविराज जाँदै छौँ; भाइ ।’

‘म विदेशमा विवस छु । बाआमा र बुहारी–भतिजाभतिजीको विचल्नी नहोस् । सबैको स्नेहले शोक भुल्न र शक्ति बटुल्न मद्दत पुगोस् । नहुनु भइसक्यो । सपार्ने हाम्रो सामथ्र्य छैन । म के भनूँ र दाइ ? हजुरहरू स्वयम् जानिफकार हुनुहुन्छ ।’
‘केही भन्नू पर्दैन । नहुनुपर्ने भयो । जति सम्लिन्छ; अब हामी समाल्छौँ । बेलाबेलामा फोनबाटै बाआमालाई सम्झाउँदै गर है आकाश ?’
दाजुभाइको वार्ताको गाँठो पर्नासाथ खाँडोको दलदले बालुवामा ट्याक्टर भासिन पुग्यो । इन्द्र जहाँकोतहीँ सुतिरह्यो । ऊ अझै जडको जडै थियो । दाजुहरू भने उत्रिएर ट्याक्टर ठेल्न थाले । चालकको कुशलताले ट्याक्टर धेरै बेर अल्झेन । चुपचाप चुपचाप अस्पतालतिर हुइँकियो ।
+++

मलाई इन्द्रको विगतले कोट्याइरह्यो । इन्द्रले फत्तेपुर बजारमा तीन तले घर बनाएको थियो । तीन ओटा सटर राखेको थियो । दुईटा भाँडामा लगाएको थियो । छोरा र छोरी नजिकैको बोर्डिङ स्कूलमा पढ्थे । पत्नी आस्थाले पनि स्नातक गरेकी थिइन् । चार बीस कटेका सासूससुराको सेवा गर्नुपरेकाले उनी कतै जान सकेकी थिइनन् । एउटा सटरमा आस्थाले किराना पसल चलाएकी थिइन् । त्यस घरमा गाउँबाट आएका मानिसहरूको ओहोरदोहोर भइरहन्थ्यो । घरमा बूढाबूढी भएकाले होला बजार भर्न आउने मानिसहरू बाटो बिराउँदैनथे । ती सबैलाई गच्छेअनुसारको अतिथि सत्कार गर्नु, नानीबाबुको हेक्का राख्नु र सासूससुरालाई हर्दम प्रसन्न तुल्याउनु आस्थाको जिम्मामा थियो ।

इन्द्र सरकारी जागिरबाट घर विदामा आएको थियो । नाना थरीका दौतरीहरू उसलाई भेट्न आउँथे । यदाकदा साथीसँगको लहैलहैमा इन्द्र मधुशाला पनि छिथ्र्याे । अलिकति लागेपछि अलिक बढी कुरा गर्ने बानी पक्रिएको थियो । साथीहरूको नजरमा ऊ शुद्ध चरित्रको थियो । बढता बोल्न थालेपछि आफ्नै विश्वासलाई पुनरावृति गर्नुपर्छ कि भन्ने लाग्थ्यो ।

ट्याक्टर खाँडो नदी पार गरेर गाउँतिर लाग्दै थियो । मलाई अर्को कुनामा झोक्राएर बसेका काल्दाइको कुम कोट्याउन मन लाग्यो । मेरो आशय बुझेर उनले शिर उठाएका थिए ।

‘काल्दाइ, भएको चै के हो ?’ मैले जिज्ञासु नेत्रले प्रश्न गरेको सुनेर उनी सविस्तार लगाउन अगि सरेका थिए–

एक दिन पिएको मौकामा इन्द्रको मोवाइलमा कसैको मिस्डकल आएछ । उसले डायल गरेछ । फोन वार्तामा एकै छिनमा नारी स्वर सुनिन थालेछ । इन्द्रलाई कानमा मोवाइल पु¥याउन अल्छी लागेछ । उसले स्पीकर लाउड पारेछ । नजिकै रहेका जोकोहीले पनि उताको आवाज समेत प्रष्ट सुनेको हेक्का राखेनछ ।

‘अनि अचेल हजुरको बसाइ चाहिँ कुन ठाउँमा छ ?’ नारी स्वरले वातावरण गुञ्जायमान पारेछ ।
‘खाबो गाडेको ठाउँमा बसाइ छ ।’ इन्द्रले साउती मार्दै थपेछ, ‘मेरी आफ्नी पार्वती छोरा–छोरी डोहो¥याउँदै घरतिर आउँदै छिन् । सुनिन् भने तिम्रा बङ्गारा गन्लिन् नि !’
‘ई, कसैले गन्छु भन्दैमा गन्न सक्ने कमजोर बङ्गारा छैनन् मेरा ।’ नारी स्वर थर्कँदै गएछ, ‘महादेव मेरा साथमा भए; पार्वती नाथेलाई वनस्थलीको जङ्गलमै अल्मलाई दिन्छु ।’

‘ए रमिला ! म पहिलाको महादेवजस्तो निष्फिक्री छैन । पार्वती त्यागेर रूप फेरिफेरि हिँड्ने मनसाय पनि छैन ।’ इन्द्रले थप्दै गएछ; ‘मेरी पार्वतीको भरमै मेरा बाबुआमाको सास अल्झेको छ । उनकै सेवासुसारले मातापिताको आशीर्वादको हात मेरा माथमा परेको छ ।’

‘लु त मलाई पार्वतीको ठाउँमा स्थापित गर्नुस् त !’ आश्वस्त स्वर सुनिँदै गएछ; ‘म हजुर र मातापिता सबैलाई आफ्नो स्नेहपूर्ण व्यवहारले मोहित पार्छु । विश्वास गर्नुस् । मातापिताको आयु दश वर्ष बढाइदिन्छु ।’

‘भो, भो बर्ता कुरा नगर रमिला ! मेरी पार्वतीका कानमा यी कुरा पुगे मेरै दानापानी बन्द हुन्छ ।’ इन्द्रको सानो स्वर सुनिएछ; ‘देवीलाई रछ्यानमा मिल्काएर इन्द्र खुशीको वर्षा गर्न सक्दैन । अब भो; हुन्डरी लिएर पार्वतीको प्रवेश भइसक्यो । कुरो यही बन्द गरौँ !!!’

उताबाट कुरा नसक्तै इन्द्रले मोवाइल टेबलको एक कुनामा राखिदिएछ । र; आफू आमाबाबुतिर फर्केर बातचितमा व्यस्त भएछ । उता रमिलाले मिस्डकल गरिछ । साइलेन्टमा भएकाले इन्द्रको ध्यान पुगेनछ । मोवाइलले मनलाई तान्न वा खल्बल्याउन सकेनछ ।
काल्दाइको लामो कहिरन सिद्धिनासाथ मैले मनको पोको फुकाइहालेँ; ‘हैन, एक, एक रिपोर्ट कसरी थाहा पाउनुभो ?’
‘कसरी भन्नु ! त्यत्ति पनि थाहा पाइन्न र ! उसको मोवाइलमा भएको रेकर्ड सुनेर । वस्तुस्थिति बुझेर र प्रहरीको प्रारम्भिक अनुसन्धान रिपोर्टको अध्ययन गरेर ।’
+++

गफैगफमा अञ्चल अस्पताल पुगिएछ । इन्द्रको पार्थिव शरीरलाई प्रयोगशाला कक्षतिर लगियो । काल्दाइ र मेरो कक्षतिर जाने हिम्मत भएन ।
‘काल्दाइ; यस घडीमा इन्द्रलीला नै सम्झनु उचित होला । उसको विगत अरू सुनाउनुस् न !’
उनलाई पनि कतिखेर सुनाऊँ भएको रहेछ । मेरो आग्रह भुइँमा खस्न नपाईकनै उनी फलाक्न थाले–
आस्था सुसेधन्दामा व्यस्त भइछिन् । छोराछोरी बोर्डिङ स्कुलको गृहकार्य गर्न र रट्न थालेछन् । निकै बेरसम्म इन्द्र आमाबाबुसँग संवादमै भुलिएछ ।

‘जागिरमा कहिले फर्कन्छस्; कान्छा ?’ आमाले भन्नुभएछ; ‘तँ क–कसको संगत गर्छन् । यहाँ कान्छी तेरो सुर्ता गरिरहन्छिन् ।’
‘अझ पेटमा अर्को सन्तान हुर्किरहेको थाहा पाएर कान्छीको मनमा चयन छैन ।’ रहस्य खोतल्दै बाले भन्नुभएछ; ‘मीठा मसिना कुरा र व्यवहार गरेर कान्छीको मन जित । नानाभाँतीका मान्छेसँग नानाभाँतीका कुरा भनेर अत्तालिने नबना है; कान्छा !’

‘कान्छा ! तेरो ठट्यौलो बोलीले आपत् निम्त्याउँछ ।’ आमाको अर्को चेतावनीको कथन थियो; ‘दुरुस्त सत्य व्यवहारजस्तो बोली बनाउँछस् । तेरो व्यवहार हैन; बोली नै झगडाको बीउ बन्छ । अरूलाई रमाइलो होस् भनेर पवित्र मनले हँसाउन खोज्छस् । आफूले खनेको भडखारामा आफैँ पर्न सकिन्छ नि ! कुरा बुझ् र सतर्क बन् ।’

बाले थप्नुभएछ; ‘जागिरे जीवनका साथीभाइसँग गरेको ख्यालठट्टाजस्तो व्यवहार हुँदैन । अब त तँ तीन सन्तानको बाबु हुन आँटिस् । जीवन ठट्टाले चल्दैन बाबै ! विश्वासिलो व्यवहारले मात्रै चल्छ ।’
त्यत्तिकैमा आस्था आफैँ भुत्भुताएको आवाज आएछ ।

इन्द्र पत्नीतिर फर्किएछ; ‘आफू परियो; एसएलसी पास, भुत्ते दिमाखवाला नेपालको जागिरे । उनी परिन् बीए पास गरेर पाँच, सात वर्ष बोर्डिङमा पढाएकी र व्यवहारमा खरो उत्रेकी नारी ! म त हाकिमको आदेशलाई ‘एस सर’ भन्दै अन्धो भएर लागिपर्ने मान्छे ! पत्नी आज्ञालाई पनि शिरोधार्य गर्न कहाँ पछि पर्छु र ?’
इन्द्र फिस्स हाँसेछ ।

‘बुढेसकालको छोरो होस् । रहर पनि थिएन; वाध्यता पनि थिएन । ख्यालख्यालमै जन्मेको होस् ।’ आमाले पनि थोते दाँत देखाएर भनिन्ः ‘अहिले मर्ने बेलामा तेरै शरणमा छौँ । दुलहीको व्यवहारबाट प्रशन्न छौँ । तिनको कमलो दिल नदुखाई दे । हामी यसैमा खुशी हुन्छौँ ।’
आस्थाले पुलुक्क हेरिछिन् तर केही पनि बोलिनछिन् ।

अकस्मात् उनका आँखा टेबल रहेको मोवाइलमा परेछ । मोवाइल उठाइछिन् । पौने एक घण्टामा जम्मा २८ वटा मिस्ड कल आएको रहेछ । त्यत्रो कल कसले गरेको होला भनेर गम खान थालिछिन् ।

सोध्नै प¥यो भनी मुख खोलिछन्; ‘ए हजुर ! कसको हो को नि थुप्रै मिस्डकल आएको छ ।’
‘ए, त्यो फुडीले गरेकी होली ।’ इन्द्रले सहजभावमा भनेछ; ‘फोन गर्ने हैन मिस्डकल त हो नि ! त्यसलाई बोल्न मन लागेर हुन्छ ? मलाई पनि लाग्नुप¥यो नि !’

‘आखिर त्यससँग हजुरको के सम्बन्ध छ ? पात हल्लनलाई बतास चल्नैपर्छ । हाम्रो विश्वासमा किन धमिरा लाग्दै छ ?’ आस्थाले मनको ऊहापोह पोख्दै थपिछन्; ‘किन हजुर अचेल बढी रक्सी पिउनुहुन्छ ? हामीसँग बोलीचाली र व्यवहारमा पनि रूखोपन ल्याउनुहुन्छ ? आखिरमा किन ?’ ‘तिम्रो प्रश्न तिमीसँगै राख; मलाई उत्तर दिने मन छैन ।’

इन्द्रले अझ थपथाप पारेछ; ‘तिमीलाई धोका दिने मन भए किन फर्केर आउँथेँ ? विदेशमा पनि कत्ति तरुनी फेला परे ? सरकारी अफिसर पो हुँ त ! केटी नाथे झुत्ती खेल्न आउँछन् । तर तिमी बाहेक अरू त गफका साथी हुन् । असली जीवन साथी त तिमी मात्रै; केवल तिमी नै हौ ।’

इन्द्र आस्थातिर हेरेर मुस्कुराएछ । त्यस मुस्कुराहटले आस्थाको मुटुलाई बेस्कन घोचेछ । उनको विश्वासको जग हल्लाइदिएछ । उनका गोडा काप्न थालेछन् । अँध्यारो भविष्य सामुमा देखा पर्न थालेछ । भित्रभित्रै धमिरो पसेर विश्वासको खम्बा खोक्रो पारेको अनुभूत भएछ । घरको छत समेत मुस्किलले अल्झिरहेको भान भएछ । कुनै बेला कतैबाट अवश्य विष्फोट हुने ठहर भएछ । गल्र्यामगुर्लुम खस्ने आभाषले मन अचाक्ली अतालिएछ ।

लेखपढमा जोतिएका दुबै सन्तानको निर्दोष अनुहार निहालिछन् । पेटमा चलमलाउँदै गरेको अर्को सन्तानलाई मुसारिछन् । नजिकैको पलङमा ढल्केका सासूससुराको चाउरिएको मुहार ठम्याइछन् । विवाहपूर्वका आफ्ना स्वच्छन्द सपनाहरूमा मन दौडाइछन् । एकाएक औडाहाको आँधीतुफान चलेछ । र, निरुत्तर टक्क अडिएर आँखाभरि आँसु पारिरहिछन् ।

इन्द्र जुरुक्क उठेछ । बाबुआमा, पत्नी र छोराछोरीतिर नजर फ्याकेछ । सबै जनाको मुहार मलिन ठम्याएछ । उसको मनमा पनि आशंकाका वादलहरू मडारिन थालेछन् । ‘यो परिवार मेरो भरमा चलेको छ । म दाँया–बाँया लागे सबैको जीवनमा औँसीको कालो रात देखापर्छ । परिवारजनप्रति मलाई पूरा हेक्का छ– मलाई कसैले कुनै उपदेश, आदेश र संंकेत गर्नुपर्दैन ।’ इन्द्रले ठूलो छाती पार्दै भनेछ; ‘सबैलाई हँसाउने र कसैलाई नरुवाउने नियत हुँदाहुँदै पनि कोही भित्रभित्रै जल्न पुगे म के गरूँ ?’
उसले आस्थालाई लक्षित गर्दै प्रश्न त राखेछ तर उत्तर पाएनछ । उत्तरको आशा र अपेक्षा नगरीकनै ऊ घरबाट निस्किएछ । बाटामा गाउँले छिमेकीहरूसँग भेट भएछ । उनीहरूका मुखबाट सुनेको कुराले ऊ अझ भाउन्निएछ । मनलाई थेग्न सकस परेछ । लगतै ऊ बाङ्गेबजारतिर हुर्रिएछ ।

उसका अगाडि सितनसहितको बोतल ठडिएछ । त्यस बोतललाई समाउनासाथ आकाश वाणीजस्तो स्वर उसको मनभित्रै गुञ्जिएछ ।

‘ए इन्द्र ! तँ ताप्लेजुङकी केटीसँग फँसेको छस् रे । घण्टौँ फोनमा लहसिएर समय र पैसाको नाश गर्छस् रे । घरपरिवारलाई समय दिन र माया गर्न पनि छाडिस् रे । तेरा हितैषीजन पनि सम्झाउँदा सम्झाउँदा थाक्दै गए रे । अब तँलाई कानुनी बाटोबाटै तह लगाउन सोचिँदै छ रे ! तँ जस्तो असल मान्छेको मति किन बिग्रिएको ?’

साथीभाइले सोधेका सारा प्रश्न र सुनाएको आरोपको उत्तर उसले बोतलमै देखेछ । मज्जाले पिएछ; घण्टा दुएक वित्दा पनि उठेर हिँड्ने मन गरेनछ । अरू थपिदिन आग्रह गरेछ । भट्टीवालीले मानिनछन् । पैसा देखाएछ ।

‘पैसाका लागि मान्छेको स्वास्थ्यमा प्रश्न चिन्ह लगाउने काम मबाट हुन्न ।’ भट्टीवालीले थपिछन्; ‘मेरै कारण कसैको परिवारमा बिखण्डन आओस् भन्ने चाहन्न । अब सरक्क घर जानुस् । घुप्लुक्क सुत्नुस् । मुख नचलाउनुस् । मनमा कुरा नखेलाउनुस् ।’ यद्यपि इन्द्र मानेनछ । रक्सी अरू दिन भनिरहँदो रहेछ । भट्टीवालीले आफ्नो श्रीमान्लाई भनिछन्; ‘यो अचाक्ली नपिउने भाइ हो । कुन पीरले धेरै पिइसक्यो ! फकाईफुल्याई घरसम्म पु¥याएर आउनुस् ।’

श्रीमान्ले आफनो पाखुरी पक्रन पुगेमा इन्द्र रिसाउन खोजेछ । श्रीमान् चाहिँले सम्झाईबुझाई उसलाई घर पु¥याएर श्रीमतीको जिम्मा लगाएछ । परिवारमा सन्नाटा छाएछ । रात छिप्पिँदै गएछ । आस्थाले खाना ल्याइछन् । इन्द्रले खान मानेनछ । भनेछ; ‘किन शंका गरिस् ? तैँले देको खान्न !’

आमाबा अघि सर्नुभएछ । सम्झाउन खाज्नुभएछ, पिएको सुरमा उल्टै जवाफ फर्काएछ; ‘हरिनाम जपेर दिन काट्नुस् । तपैँहर्को युग सकियो । यो युग इन्द्र र आस्थाको द्वन्द्वको युग हो । अझ बढेर भन्दा इन्द्र र रमिलाको हाँसखेल र ठट्टीमज्जाको युग हो ।’

बाआमा हेरेको हे¥यै हुनुभएछ ।
छोराले भनेछ; ‘बाबा ! खाना खानुस् न !’

‘मामू पनि भोकै, हामी पनि भोकै छौँ ।’ छोरीले थपिछ; ‘हजुरकै पीरले हजुरी बाआमाले थोरै खाना खानुभयो ।’
‘अब सबै जना प्रेमले भन्छौ भने ल्याओ न त ! प्रेमका अगाडि विष पनि तन्तनी पिउन तयार छु ।’ आफ्नो बखान गर्दै इन्द्रले थपेछ; ‘मलाई मायालु नजर चाहियो । शंकाविहिन मन चाहियो । सबैभन्दा बढता त विश्वासको घर चाहियो । विश्वासले घर स्वर्ग बन्छ, अविश्वासले त्यसलाई मसानघाट बनाउँछ ।’

अन्ततः उसले दुई गाँस टिपेछ । र; फत्फताउँदै सुतेछ । निदाई पनि हालेछ ।
भित्ताको पेन्डुलम घडीले रातको दश बजेको संकेत दिएछ । त्यत्तिकैमा इन्द्रको मोवाइलमा तीन पटक मिस्डकल्ड आएछ । आस्थाले फिर्ती डायल गरिछन् ।

‘के हो, यार ! पार्वतीसँग भुलेर मलाई बिर्सेको हो कि क्या हो !’ आस्थाले सुनिरहिछन् र उताबाट नारीस्वर एकोहोरो गुञ्जिरहन थालेछ; ‘कि पार्वतीले तिमीलाई नै अपहरण गरी ! मेरो याद आएन । बोल न !’

‘अबदेखि तैँले मिस्डकल गरिस् भने तेरो जगल्टा छर्न म आइपुग्छु ।’ आस्थाको कमलो मन घायल भएको आभाष प्रष्ट रूपमा प्रकट भएछ; ‘मेरो लोग्नेलाई आफ्नो जालमा पारेर परिवारको विचल्नी पार्न खोज्ने तँ पापिनी होस् ।’

‘तँ जे भन नखरमाउली । म फँसेकी हैन । तेरो लोग्ने फँसेको हो । म पैसा लिएर मनोरञ्जन दिने मान्छे हँु ।’ उसले प्रष्ट पारिछ; ‘ऊ मकहाँ आओस् । पैसा खन्याओस् । र; तँलाई नङ्गटराम तुल्याओस् भन्ने मेरो धारणा हो ।’

‘बढता कुरा कुरा नगर् । चुपचाप आफ्नो काम गर् ।’ आस्थाको अन्तिम कथन रहेछ; ‘मेरो परिवारतिर गिद्धेदृष्टि लगाउन छाडिदे । बस्; मेरो भन्नू यत्ति नै !’

‘एई पार्वती ! मसँग विलौना नगर् । आफ्नै पतिपरमेश्वर महादेवसँग विन्ती भाउ गर् ।’ उताबाट बोली आएछ; ‘तेरो घर भत्काउनु थियो भने उहिल्यै तेरो पति मेरो हुन्थ्यो । मसँग नम्र बन् नत्र एक हप्तामा तेरो घरबार भत्काएर आधा सम्पत्ति लिएर घरजम गर्छु; बुझिस् ?’

क्रोधले काँप्दै आस्थाले फोन काटिछन् । र; मोवाइल कुनातिर फ्याकिछन् । मोवाइल छ्याल्लब्याल्ल भएछ । र; त्यस्तै अवस्थामा रहिरहेछ । नशामै मस्तले रात विताएर चार नबज्दै इन्द्र उठेछ । बा पहिले नै भजन कीर्तन गर्दै हुनुहुँदो रहेछ । आमा पनि उठेर बालाई नै सघाइरहनुभएको रहेछ ।

उसले शौचकर्म सिद्धयाएछ । आस्थातिर हेरेछ । उनी अझै ओछ्यानमै रहिछन् । छोराछोरी मस्त निद्रामै भेटिए । इन्द्रले कसैलाई अवरोध गर्ने मन गरेनछ । उसको नजिक आमा आउनुभएछ । आस्था र रमिला बीचको मोवाइलवार्ताका सारा कुरा बताउनुभएछ् । इन्द्रले लाजले मुन्टो निहुराएछ ।

‘एक पटक जो पनि बिग्रन्छ । आफू बिग्रेको थाहा पाएपछि सप्रिहाल्ने मान्छे कहिल्यै नराम्रो मानिँदैन ।’ आमाको कथन लम्बिएछ; ‘दुलहीलाई पनि सम्झाउँला । उनी बडो तनावमा छिन् ।’

‘हो, कान्छा ! अब त होस्मा आइज । खाने कुरो खा । ठीक्क खा । शरीरले सहने; इज्जतले धान्ने खा ।’ बाले भन्दै जानुभएछ, ‘३/३ पत्नीलाई समालेर राखेको जीवन यही हो । तेरी आमाले २/२ जना सौताको पिरलो सहेकै हो । आखिरमा मर्ने बेला जेठी नै काम लागिरहेकी छे मेरा लागि ! पन्ध्र जना छोरा मध्ये सबभन्दा कान्छो तेरै छाप्रोमा ओत लाग्न मन लाग्यो । तँलाई छाड्न मनले मान्दै मानेन । तैँले बाटो बिराए; पुर्खाको इज्जत नै धरापमा पर्छ । हामी अस्ताउन लागेका जूनघामको विचल्नी हुन्छ । हामीलाई त अरू छोराबुहारीहरूले पनि सेवा गर्लान् । किन्तु यी कलिला नाति, नातिना र बुहारीको कुन हालत होला ! सम्झेर पनि सम्झिसक्नुछैन । यिनेर्ले दुःख पाए हामी चिन्ता र शोकले सुकेर र गलेर ढल्छौँ । बस्, म ता यत्ति भन्छु, यो युग मेरो हैन तेरो हो । सोचेर काम गर है; कान्छा !’

इन्द्र बोल्न सकेनछ । मौनताबाटै जित हात पारिन्छ भन्ने ठानेछ । तुरून्तै गाउँबाट ३÷४ भाइ दाजुभाइ आएछन् । बेलाबखत इष्टमित्र पनि आउँदै, जाँदै गर्दा रहेछन् । दुई दिनभित्रै ससुरालीहरूको पनि आगमन भएछ ।

इन्द्रले सबै जनाको एउटै मत सुन्नुपरेछ– इन्द्र बिग्रँदै छ; इन्द्र कसैसँग फँस्दै छ; इन्द्रले आफ्नो बसेको र जमेको परिवारलाई बिखण्डित तुल्याउँदै छ । साक्षात् देवीजस्ती आस्थाप्रति अनास्था राख्नु इन्द्रको जीवनकै सर्वाधिक भूल हो । निमुखा सन्ततिको धोकेवाज बाबु बन्नु हो । यत्ति पवित्र विचार र उदार चरित्रको इन्द्रले विश्वासघात गर्न मिल्दैन । हामी यसलाई अर्की पत्नी थप्न मरे पनि दिँदैनौँ ।
सबैको एकै किसिमको रटान र आफूले जत्ति स्पष्टीकरण दिए पनि प्रतिफल शून्य भए पछि इन्द्रको मन झन विचलित भएछ । ऊ आफन्तलाई पनि विरानो देख्न थालेछ । आस्थाको आदर पनि कुलेलम ठोकेजस्तो लागेछ ।

‘सबैले तिम्रै पक्ष लिए,; म पनि तिम्रै पक्षमा छु । त्यो रमिला फोनमा जिस्कने साथी हो । मैले चिन्या पनि छैन र देख्या पनि हैन ।’ इन्द्रले प्रष्ट्याएछ; ‘शिक्षित नारी भएर गँवारजस्तो नबन । आफन्तजनलाई हल्ला पिटेर बेइज्जती नकमाऊ ।’

‘ए, काम बिगार्ने बेलामा बेहोसी हुने हजुर अनि अहिले अरूले होस्मा ल्याएपछि चैँ म नै गँवार महिला कहलिएँ हैन !’ आस्थाको चर्को चेतावनी सुनिएछ; ‘त्यस राँडीलाई ल्याएर तपैँ नै राज गर्नुस् । छोराछोरी समाल्नू; बाआमाको ख्याल गर्नू ! म एक्लो ज्यान कतै गएर गुजारा गरूँला । हजुरको जीवन मैले फुलाउन सकिनछु । सके माफ गर्नू; नसके गँवार महिला सम्झेर मन बुझाउनू ।’

इन्द्र निरुत्तर बनेछ । छोराछोरीको निर्दोष मुहार हेरेछ; गहभरि आँसु पारेछ । बाबुआमाको पलङतिर आँखा फ्याकेछ । निस्तेज अनुहार लगाएर टुलुटुलु हेरिरहेको बुढ्यौली मुहार दखेछ । वरपरको सारा वातावरण र परिस्थितिले आफूलाई गिज्याएजस्तो अनुभूत गरेछ ।

र; भनेछ; ‘आस्था ! फेरि भन्छु, मेरो कसैसँग त्यस्तो कुनै प्रकारको सम्बन्ध छैन । सबै जना एकै किसिमको रटान लगाउँछौ र मलाई नै अनाखो देखिरहन्छौ । यही सम्झेर म जीवनदेखि नै हार खाँदै छु ।’

‘परिवार समाल्नू । जायजेथा बढाउनू । भोलि विहानै म कहिल्यै नफर्किने गरी हिँड्छु ।’ आस्थाको रून्चे स्वर सुनिएछ; ‘मलाई छोराछोरीको आँसुले नपिरोस् र सासूससुराको श्राप नलागोस् ।’
इन्द्र जुरुक्क उठेछ । आस्थाको आक्रोश तातो झिर बनेर मुटु घोचेजस्तो भएछ । घरायसी सामान्य परिधानमै बजारतिर निस्किएछ । बाङ्गेबजार छिरेछ । २÷३ घण्टा विताएछ । लरबराउँदै चन्द्र नहरको छेउको एकान्तमा ढल्किएछ ।

निकैबेर गम खाएछ । त्रियुगाको नदी कलकल गरिरहेको रहेछ । चारैतिरबाट शितल हावा उसकै शरीरमा आएर पसेजस्तो भएछ । ऊ आनन्दले विभोर भएछ । त्यही सुतेछ र एकैछिनमा निदाई हालेछ पनि ।

बिउँझँदा पेट खाली पाएछ । घर सम्झँदा एक हुल मान्छे घोचो तिखारेर आफैँ माथि आइलागेजस्तो भएछ । आफ्नो बोली नबिकेको तर आस्थाको बोली अन्धाधुन्ध बिकेकोमा इष्र्या जागेछ । उसलाई अभिनय गर्न मन लागेछ । मन भारी भएछ । यद्यपि सबैको क्याऊँक्याऊँ बोलीले गोलीको रूप धारण गरेको अनुभूत भएछ ।

ऊ पसलमा छिरेछ । दुई बोतल कडा रक्सी किनेछ । बिजभण्डारको काउण्डरमा उभिएछ । कडा खालको मेटासिट किनेर रक्सीकै झोलामा हालेछ । फर्कँदा हटिया छेउमा दुई जोर परेवासहितको पेरुङ्गो किनेछ । सारा सामान जुटाउँदा साँझ परिसकेको रहेछ । ऊ छलिँदै दिशा बस्ने निउले त्रियुगाको किनारमा पुगेछ । झोक्रीमा झोलाको सामान लुकाएछ । र; पेरुङ्गो लिएर घर पुग्यो । घरमा सबैजना रिसाएकै रहेछन् ।

ऊ भने रिसाएनछ । बरु मधुरो र प्यारो बोलीमा भनेछ; ‘आस्था ! यो परेवा बनाऊ । आमाबाबु र छोराछोरीलाई खुवाऊ । आफू पनि टन्न खाऊ । म भने साथीको पार्टीमा जाँदै छु । राती अबेर होला बिहान आऊँला । मलाई राख्न पर्दैन । बासी परेवाको मासु खानुहुन्न ।’
विश्वासले पेरुङ्गो समाइछन् । र; आस्था सुसेधन्दामा व्यस्त भइछन् ।

सूर्य अस्ताचलमा सवारी हुन लागेको रहेछ । इन्द्र मुढामा बसेछ । वरपर अघाउँजी नियालेछ । घरको छतलाई एक टकले हेरेछ । त्यसले नजा, नजा भनेजस्तो लागेछ । तुलसीको मठतिर आँखा फ्याकेछ । त्यसले निर्णय बदल भनेजस्तो लागेछ । केहीबेर अरू बसे मलाई रोक्न धेरै थोक लागेका रहेछन् भन्ने ठानेछ ।

इन्द्र जुरुक्क उठेर आमाबाबुका गोडा छोएछ । छोराछोरीका गालामा म्वाइ खाएछ । आस्थातिर फर्केर भनेछ; ‘सबैको हेक्का राख । हाम्रो पूर्वजको प्रतिष्ठा बढोत्तरी गर है ।’
साँच्चिकै पार्टीमै गएजस्तो अनुहारमा बनाबटी हाँसो ल्याएर मुस्कुराउँदै र हात हल्लाउँदै ऊ घरबाट निस्किएछ । र, त्यो आफ्नो पसिनाको धरोहरमा भौतिकरूपले फेरि कहिल्यै फर्केनछ ।

सूर्य अस्ताचलमा चुर्लुम्म डुबेपछि ऊ त्रियुगा किनारामा पुगेर केहीबेर झोक्रिबसेछ– जहाँ पुगे पनि जहिले भए पनि मिल्ने त यही माटो नै हो । हाँसेर हिँडे पनि, रोएर झोक्रे पनि अन्ततः मिलनविन्दु एकै हो ।
त्रियुगाले छाल फ्याकेझँै उसको मनले पनि विचारका तरङ्ग टाढाटाढासम्म फ्याकेछ । त्यसलाई समाउन खोजेछ । असफलता नै हात परेछ । असफलता काखी च्यापेर रुन्चे हाँसो हाँस्ने जीवन अस्विकार गर्ने मन भएछ । र; हक्कीका साथ धक फुकाएर बाँच्ने लालच जन्मेछ ।

अन्ततः रक्सी र मेटासिट किन्ने बेलाको उसको विचार सामुमा देखिएछ । कडा रक्सीको बोलतमा मेटासिट घोलिएछ । अँध्यारामा साक्षी चरोमुसोबाहेक बगिरहेको त्रियुगाको जलप्रवाह मात्र रहेछ ।
तिनैलाई साक्षी राखेर इन्द्र भुनभुनाएछ; ‘ए प्रकृति माता ! भूल भए माफी देऊ; जसरी हुन्छ आफ्नो काखमा शरण देऊ । म अविश्वासको काँडाले घायल छु । तिम्रै हातबाट शितल मलहम चाहन्छु ।’
रात आनन्दले सुतेछ । त्रियुगाले पनि उस्तै गतिमा बग्ने क्रम जारी राखेछ । इन्द्रका परिवारजन आनन्दले खाइपिई गरेर सुतेछन् । सुनसान त्रियुगा धारमा कत्ति न्याउरी मुसा, कत्ति स्याल, कत्ति केके जाति उफ्रिएछन्; नजिक–नजिक आएछन्; गएछन् । इन्द्रले त्यसको हेक्का राखेनछ ।

भोलिपल्ट एकाविहानै स्थानीय तराई मधेसबासी मान्छे लोहोटामा पानी बोकेर ऊ नजिकै बसेछ । शौचकर्म सिध्याएछ । र, वरपर नियाल्दा नजिकै विचित्रको दृष्य साक्षात्कार गर्न पुगेछ– चीरनिद्रामा मस्त भएको त आफ्नै चिरपरिचित इन्द्रलाई पो देखेछ !!!
चिच्याएछ; ‘हे, गो बाबा ! इन्द्रके हातपैर ठण्डा भ‘गेल छौ । साइडमे मेटासिट आ दारु छिटल छौ ! गै इन्द्रके माईबाफ ! कत छी । जल्दीसे या । ’

इन्द्रका हातखुट्टा चिसा भएका र मेटासिट र रक्सीको मिश्रण नजिकै रहेको कुरो सुनेर वरपरका मान्छे दौडदै आएछन् । एक, दुई हुँदै एक डेढ सय मान्छे भेला भएछन् तर उसलाई छुन कसैले हिम्मत गरेनछन् । गाउँबाट दाजुहरू आएपछि मात्रै इन्द्रको सुत्ने ठाउँ ट्याक्टरको डाली भएको रहेछ ।

काल्दाइले बोली बन्द गर्दा नगर्दै प्रयोगशालाबाट सेतो कपडामा पोको परेर इन्द्र फिर्ता आयो । फेरि उसले ट्याक्टरका डालीको बीच भाग उसै गरी भ¥यो । फरक यत्ति थियो फत्तेपुरबाट अघि आउँदा इन्द्र भर्भराउँदो कञ्चन थियो । अहिले जाँदा भने इन्द्र रगतले लत्पतिएको थियो । इन्द्र–शयन भने पहिले र अहिले उस्तै उस्तै थियो । (कथाकार आचार्यको यो कथा समय शल्यक्रिया कथा सङ्ग्रहमा समाविष्ट गरिएको छ । सं.)

+++

 

Author:



क्याटोगरी छान्‍नुहोस