गरिब एवम् विपन्नलाई निःशुल्क स्वास्थ्य सामग्री

 

राजविराज, २ पुस । जाडो याममा कोराना भाइरसको जिवाणु बढी सक्रिय हुने जोखिम रहेकाले यसबाट जोगिन एक संस्थाको अगुवाईमा चेतनामूलक कार्यक्रमसँगै गरिब एवम् विपन्नलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण गरिएको छ ।

अमेरिका स्थित तराई क्षेत्रका नेपालीहरुको संगठन एन्टाको सहयोगमा राजदेवी युवा समाज राजविराजले गरिब एवम् विपन्नलाई स्वास्थ्य सामग्री वितरण गर्नुकासाथै कोरोना भाइरस(कोभिड–१९)बाट कसरी जोगिने विषयमा चेतनामूलक कार्यक्रम समेत आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत बिहीवार राजदेवी युवा समाजले राजविराज नगरपालिका वडा नम्बर ६, ९, ११ र १२ का झण्डै ४ सय ५० दलित तथा गरिब परिवारलाई डेटोल साबुन २ पिस, मास्क ४ पिस, भिटामिन कम्पलेक्स सिरप १ र १ थान थर्मामिटर वितरण गरिएको छ ।

यसअघि बुधवार पनि राजविराज नगरपालिका ११ झलही र राजविराज १२ सिंग्यौन लबका टोलका एक सय ७६ परिवारलाई डिटोल साबुन २ पिस, मास्क ४ पिस, भिटामिन कम्पलेक्स सिरप १ र १ थान थर्मामिटर वितरण गरिएको थियो । कार्यक्रममा राजदेवी यूवा समाजका तर्फबाट यूवा अभियन्ता सुजित मण्डल, बसन्त यादव लगायतले कोरोना भाइरसबाट कसरी जोगिने र हात धुने तरिकाबारे सर्वसाधारणलाई जानकारी गराए ।

‘गाउँघरमा कोरोना भाइरसबारे जानकारी अभाव र भ्रम पनि रहेको हामीले महसुस गरेपछि चेतनामुलक कार्यक्रम गर्नुपर्ने आवश्यक महसुस गरेर कार्यक्रम सुरु गरेका छौं’, राजदेवी युवा समाजका अध्यक्ष सुजितले भने, ‘अहिले हामीसँग बजेट अभाव रहेकाले अमेरिकामा बस्दै आएका साथीहरुको सहयोगमा चेतनामुलक कार्यक्रममै कोरोना भाइरसबाट जोगिन आवश्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएका छौं ।’ आगामी दिनमा आफुहरुले यस्ता कार्यलाई निरन्तरता दिने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस