असंवैधानिक कदम अविलम्ब सच्याउनुपर्छः नेताहरु

 

राजविराज, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक एवम् तानाशाही प्रवृतिको उपज भएकोले अविलम्ब सच्याउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

केन्द्रीय सर्कुलर अनुसार जनता समाजवादी पार्टी सप्तरीद्वारा आइतवार शहिद दशन चौकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै वक्ताहरुले बताएका हुन् । प्रधानमन्त्री ओलीको तानाशाही प्रवृतिले देश सङ्कटमा फँसेकोले यस्तो अवस्थालाई निकास दिनुपर्नेमा वक्ताहरुले जोड दिए । प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद समाधान गर्न नसकेर कुर्सी लम्ब्याउनकालागि गलत कदम चालेकोले जनताले जवाफ दिने जनता समाजवादी पार्टीका नेताहरुले चेतावनी दिएका छन् ।

विरोधसभामा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय नेता एवम् पूर्व मन्त्री रेणु कुमारी यादव , प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्यद्वय दिनेश कुमार यादव, कपिलदेव यादव, प्रदेश सचिव दिनेश कुमार यादव, राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव (केसी), नेताहरु दिलकुमारी चौधरी, उषा साह, रिना झा, समाजवादी युवाका केन्द्रीय सदस्य विशाल यादव, प्रदेश नम्बर २ के युवा कमिटी सदस्य सत्येन्द्रनारायण यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव लगायतले सम्बोधन गरे ।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोधसभा अघि आयोजना गरिएको विरोध जुलुस राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस