औषधी व्यावसायी संघको प्रदेश समिति गठन, अध्यक्षमा शिवनाथ

 

लहान, १३ पौष । नेपाल औषधी व्यावसायी संघ, संघीय संरचनामा गए पश्चात पहिलो पटक प्रदेश नम्बर २ को कार्यकारिणी समिति निर्वाचन प्रक्रियाबाट चयन गरिएको छ ।

संघको लहानमा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति गठन गरिएको हो । लहान सिरहाका औषधी व्यावसायी शिवनाथ सिंहको नेतृत्वमा गठित कार्यसमितिमा थोक व्यावसायी तर्फका उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र महिला सदस्यमा क्रमशः सुमनकुमार केथाल, विरगञ्जका सुनिल लखोटिया, रौतहटका नन्दलाल साह र महोत्तरीका मन्दिरा भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता राजदेव यादवले जानकारी गराएका छन् ।
निर्वाचन संयोजक यादवका अनुसार विजेता अध्यक्ष सिंहले ६२ मत ल्याए भने प्रतिस्पर्धी जनकपुरका प्रमोदकुमार अग्रवालले ४९ मत ल्याए । निर्विरोध निर्वाचित हुने क्रममा खुल्लातर्फको सदस्यको पद पनि रहेको जानकारी गराउँदै निर्वाचन प्रमुख यादवले ४ जना सदस्यमा जनकपुरका श्याम सुन्दर झा र उमा शंकर साह, लहानका तापस कुमार सरकार तथा वारा, कलैयाका महेश मोदक रहेको बताएका छन् ।

कुल ९ पदको लागि भएको निर्वाचनको परिणाम पौष १२ गते सार्वजनिक भएको परिणाम अनुसार बरिष्ठ उपाध्यक्षमा जनकपुरका राकेश कुमार साह तथा खुद्रा व्यावसायीको उपाध्यक्षतर्फ राजविराजका बिनोद चन्द्र देव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । बरिष्ठ उपाध्यक्षमा साहले ५९ मत ल्याए भने उहाँका प्रतिद्वन्दी विरगञ्जका विश्वनाथ साह स्वर्णकारले ४६ मत ल्याए । यसैगरी खुद्रातर्फ उपाध्यक्षमा जितेका देवले ६५ र पराजित भएका सप्तरीकै फैयाज अन्सारीले ४२ मत ल्याए ।

लहानको मारवाड़ी सेवा सदनमा सम्पन्न प्रदेश अधिवेशन र निर्वाचनमा विरगंजका पप्पूकुमार झाले महासचिवको पदमा ५७ मत प्राप्त गरी ५१ मत ल्याउने जनकपुरका गणेशप्रसाद साहलाई पराजित गरी विजयी भए । उप–कोषाध्यक्षको पदमा विरगञ्जका मानव राजपालले ६१ मत ल्याउँदा ४६ मत मात्र ल्याउने जनकपुरका राजकिशोर साह पराजित भए । थोकतर्फका सदस्य तर्फ २ स्थानको लागि ३ उम्मेदवार रहेकोमा जनकपुरका निरञ्जन प्रसाद साह र विरगञ्जका सुनिलकुमारले क्रमशः ९० र ५८ मत ल्याई विजय पक्का गरे भने खुद्रातर्फको २ स्थानकोलागि ४ जनाले प्रतिस्पर्धा गरे । खुद्रा तर्फको २ स्थानमा राजविराजका प्रमोदकुमार यादवले ९० र विरगञ्जका गणेश प्रसाद साहले ५१ मत ल्याई विजयी भए ।

प्रदेश नम्बर २ का आठै जिल्लाका औषधी व्यावसायी सदस्य रहेका प्रदेश सभामा प्रतिनिधित्वको आधारमा कूल ११९ जना मतदाता रहेको जसमा १११ जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी गराएका छन । खसेको कूल मतमा २ मत पूर्ण बदर रहेको र अन्य पदमा फरक–फरक संख्यामा मत बदर रहेको समेत निर्वाचन समितिले जनाएको छ ।

नेपाल औषधी व्यावसायी संघको सिरहा जिल्ला संयोजक श्याम प्रसाद राउतको अध्यक्षतामा सम्पन्न प्रदेश अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ प्रमुख अतिथि थिए । अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका केन्द्रीय अध्यक्ष श्रेष्ठले भने ‘संघीय संरचनामा गएको हाम्रो संघको यो पहिलो प्रदेश समितिको गठन हो अब यस बर्षको फाल्गुणसम्ममा बाँकी ६ वटै प्रदेशको प्रदेश समिति गठन गरी चैतमा केन्द्रीय समिति गठन गराउने छौं ।’

प्रदेशको कार्यसमिति १९ सदस्यीय रहने व्यवस्था भए पनि १ जना सदस्य प्रदेश अध्यक्षले मनोनीत गर्ने र १ जना निवर्तमान अध्यक्ष पदेन सदस्य रहने भएको जानकारी खुद्रा तर्फबाट समितिमा निर्वाचित विनोद चन्द्र देवले जानकारी गराएका छन ।

Author:



क्याटोगरी छान्‍नुहोस