पत्रकार धर्मपाललाई लोकेन्द्र स्मृति र भूपदेवलाई वातावरण पुरस्कार

राजविराज, २६ पुस । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले राजविराजमा आइतवार आयोजना गरेको एक कार्यक्रमका बीच सप्तरीका दुई जना सञ्चारकर्मी पुरस्कृत भएका छन् ।

महासंघको सभाहलमा आयोजित समारोहका बीच राजविराज टुडे दैनिकका प्रमुख सम्वाददाता धर्मपाल राउतलाई २६औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । विगत एक दशकदेखि पत्रकारिता पेशामा सक्रिय रहँदैआएका राउतलाई नगद पाँच हजार पाँच, प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झाले महासंघको तर्फबाट उक्त पुरस्कार पत्रकार राउतलाई हस्तान्तरण गरेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका निवासी पत्रकार राउत राजविराजमा रहेर पत्रकारिता गर्दैआएका छन् । सामाजिक रुपान्तरणका सवालहरु, सामाजिक विकृति विसंगती विरुद्ध निर्भिकताकासाथ पत्रकारिता गर्ने मापदण्डमा उनलाई सम्मान गरिएको हो ।

यसैगरी सोही कार्यक्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका निवासी सञ्चारकर्मी भूपदेव मालीलाई वातावरणीय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । स्व. पत्रकार उमासिंहको १२औं स्मृति दिवसको अवसरमा ११औं वातावरणीय पत्रकारिता पुरस्कारबाट उनलाई नगद एक हजार एक सय एक रुपैयाँसहित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक सम्पादक वैद्यनाथ झाले सम्मान गरेका छन् ।
सप्तरी जिल्लामा सक्रियतापूर्वक विकासीय एवम् वातावरणीय समाचार लेखनमा योगदान पुर्याएको भन्दै सञ्चारकर्मी मालीलाई पुरस्कृत गरिएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु शिवहरि प्रसाद भट्टराई, विष्णु कुमार मण्डल, वैद्यनाथ झा, धिरेन्द्र प्रसाद साह, प्रकाश खतिवडा, प्रदेश २ का सचिव रामनारायण विश्वास, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, आदिवासी जनजाति पत्रकार संघ सप्तरीका अध्यक्ष प्रियासिंह थारु लगायतले स्व. पत्रकार लोकेन्द्र बुढाथोकीको व्यक्तित्व एवम् योगदानबारे चर्चा गरे ।

सोही कार्यक्रममा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोष वृद्धिकालागि सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले नगद एघार हजार रुपैयाँ सहयोग गरेका छन् । कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव तथा सञ्चालन सचिव जितेन्द्र कुमार झाले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस