भ्रष्टाचारको आरोपमा सप्तरीका यादवसहित १७ जनामाथि मुद्दा दायर, दुई करोड २ लाख बिगो माग

जनकपुरधाम । ललितपुरस्थित सार्वजनिक खोला र आसपासमा रहेको सरकारी जग्गाको नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गराएको आरोपमा नापी र मालपोतका कर्मचारीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

उनीहरुले लतितपुर महानगरपालिका–२८ र २३ स्थित कोड्कु खोला र आसपासमा पर्ने ८ रोपनी १२ आना जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा गत आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सो कार्यमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापामगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेलको संलग्नता छ । नापी अधिकृत यादव सप्तरीको बोदे बरसाईन नगरपालिका–५ निवासी हुन् ।

यसैगरी, युरो हाउजिङ डेभलपर्सका कम्पनीका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्ज्वल मानन्धरविरुद्ध मुद्दा दायर भएको छ । यसैगरी, काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र दुर्गेशनन्दिनी भट्टचनविरुद्ध समेत मुद्दा दायर भएको छ ।

जग्गा किन्ने ३३ जना रहे पनि जग्गा जफत गर्ने १७ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ४७ बमोजिम उक्त सार्वजनिक खोलाको जग्गा असुलउपर र जफत गरी नेपाल सरकारको नाममा कायम गर्न माग गरिएको छ भने सबैलाई दुई करोड दुई लाख ३३ हजार ६ सय ७१ रुपैयाँ ८८ पैसा बिगो दाबी गरी मुद्दा दायर भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस