जसपाले राजविराजमा २५ हजार कार्यकर्ता सडकमा उतार्दै

राजविराज, ६ माघ । जनता समाजवादी पार्टीले सप्तरीको राजविराजमा बुधबार वृहत विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम राजविराजमा विरोधसभा आयोजना गर्न लागिएको हो । उक्त विरोधसभामा पच्चीस हजार बढी जनता सदरमुकाममा उतार्ने तयारी गरेको छ । यसकालागि जसपा नेता तथा कार्यकर्ताहरु स्थानीय तहको वडा स्तरसम्म तयारीमा छलफल, भेंटघाट तथा अन्तरक्रिया गरेको पार्टीका जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिएका छन् ।

विरोधसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो बुधबार सप्तरी आउन लागेका छन् । राजविराज स्थित राजरंगशालामा आयोजना हुन लागेको विरोध सभालाई पार्टीका कार्यकारिणी सदस्यहरु रेणु यादव, मृगेन्द्र कुमार सिंह यादव, कार्यकारिणी सदस्य राज कुमार लेखी, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह लगायतका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिएका छन् ।

बिरोध जुलुस र सभालाई प्रभावकारी र शान्तिपुर्ण बनाउन जसपाले कार्यकारिणी समिति सदस्य तथा पुर्व मन्त्री मृगेन्द्र सिंह यादवको संयोजकत्वमा जनपरिचालन समिति, केन्द्रिय सदस्य तथा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादवको संयोजकत्वमा आर्थिक संकलन समिति, केन्द्रीय सदस्य शैलेश कुमार चौधरीको संयोजकत्वमा मञ्च ब्यबस्थापन समिति, केन्द्रीय सदस्य दिनेश यादवको संयोजकत्वमा स्वयंसेवक तथा युवा परिचालन समिति र केन्द्रिय सदस्य अमरनाथ मण्डलको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको जनता समाजवादी पार्टी नेपाल सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस