चिसोको कहर !

तिथीले गर्मी सुरु हुने बेलामा यस पटक ठण्डीको प्रकोप सुरु भएको छ । माघदेखि सूर्य उत्तरायण हुने भएका कारण क्रमशः जोडो घट्दै जाने अनि न्यानो बढछ भन्ने मान्यता छ । यस वर्ष मंसीर, पुस जस्ता बढी जाडो हुने महिनामा विगतका तुलनामा ठण्डीको प्रभाव कम रह्यो । तर, माघ लागे यता विशेष गरी तराई मधेशका जिल्लाहरुमा ठण्डी बढ्न थालेको छ ।

प्रदेश २ मा मात्र यही कारणले चार जनाको ज्यान गईसकेको छ । प्रहरीका अनुसार शितलहरका कारण सर्लाहीको हरिपूर्वाका २४ वर्षिय रोजाई शेख, सिरहा कर्जन्हाका ७० वर्षिय बिल्टु महतो, बरियारपुर १ की ८५ वर्षिया प्रयागीदेवी साह र मिर्चैयाका आठ वर्षिय वालक जाबिर राइनको मृत्यु भएको छ ।

प्रदेशकै कुरा गर्दा यहाँका आठवटै जिल्लामा ठण्डीको प्रकोप बढेको छ । जाडोका कारण अति विपन्न वर्ग नै बढी प्रभावित भएका छन् । शरीर ढाक्नकालागि न्यानो कपडा,पोषिलो खानेकुरा तथा गतिला ओढ्ने ओच्छ्याउनेको अभावका कारणले अति विपन्न वर्ग यति बेला समस्यामा परेका छन् ।

विशेष गरी ज्येष्ठ नागरिक, वालवालिका तथा सुत्केरीलाई ठण्डीको प्रभाव बढी पर्ने भएका कारण त्यस्ताको पहिचान गरी उनीहरुकालागि आवश्यक व्यवस्था मिलाउन जरुरी छ । कोरोनाका कारण ज्याला मजदूरी पनि गर्न नपाएका,पाए पनि गतिलो लुगा किन्न सक्ने क्षमता नभएकाहरुकालागि रात कटाउने उपाय भनेको परालको ओढ्ने अनि परालकै ओच्छ्याउने हो ।

तराई मधेशका जिल्लामा डोम, मुसहर लगायतका विपन्न दलित बस्तीमा जाँदा अहिले पनि यही अवस्था सहजै देख्न सकिन्छ । यस्ता विपन्न समूदायको बढी बसोबास पनि प्रदेश २ मै रहेका कारण तिनलाई ठण्डीबाट सुरक्षित राख्नकालागि सरकारी स्तरबाट काम गर्न जरुरी छ ।

विशेष गरी रुथानीय तहका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रभित्र ठण्डीका कारण समस्यामा परेकाहरुको अवस्थाका बारेमा जानकारी लिने तथा तत्कालै उनीहरुकालागि गर्न सकिने व्यवस्थाका बारेमा तदारुकताका साथ काम गर्न सके विपत्तिको यस समयमा उनीहरुको ज्यान जोगाउन सकिनेछ ।

समस्या आएपछि मात्र समाधानको उपायतिर लाग्ने परिपाटी भन्दा पनि ठण्डीको सम्भावनालाई दृष्टिगत गरी पहिले नै आवश्यक व्यवस्था मिलाउन सकियो भने त्यो बढी प्रभावकारी हुन सक्दछ । जाडोको प्रकोप वर्षेनी जसो हुने भएका कारण जाडो आउनु अगाडि नै कम्बल, न्यानो कपडा, आगो ताप्नकालागि दाउराको प्रबन्ध गर्न सकियो भने पनि समस्या परेका वेलामा ती सामान वितरण गरेर अति विपन्नहरुलाई राहत पुर्याउन नसकिने होईन ।

स्थानीय तहहरुलाई स्थानीय सरकारका रुपमा समेत हेरिएका कारण गाउँघरमा समस्या परेका बेलामा जनताको नजिकका सहयोगी भनेका यिनै जनप्रतिनिधिहरु हुन् । स्थानीय तहले बजेट अभाव या अन्य कारणले आवश्यक व्यवस्था मिलाउन नसके प्रदेश तथा केन्द्र सरकारसित समेत समन्वय गरी विपत्तिमा परेकाहरुलाई बँचाउने काममा तदारुकता देखाउन जरुरी छ ।

सरकारले अति विपन्न दलित वर्गलाई लक्षित गरेर जनता आवास कार्यक्रम पनि सञ्चालनमा ल्याएको निकै बर्ष बितिसकेको छ । तर पनि अधिकांश विपन्न दलितले अहिलेसम्म सरकारले बनाई दिने त्यस्ता घरमा बस्न पाएका छैनन् ।

कतिपयको झुप्रो भत्काएर नयाँ घर बनाई दिने भनिए पनि अधुरै रहेका कारण उनीहरु घरका न घाटका भएको अवस्था समेत छ । समग्रमा अहिले बढेको ठण्डीबाट समस्यामा परेकाहरुलाई सुरक्षित राख्न कसरी सकिन्छ यसमा सबै पक्षबाट सक्रियताका साथ लागि पर्नु आवश्यक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस