सप्तरीमा फिल्मी शैली अपनाएर डाँका गर्ने गिरोह पक्राउ (भिडिओसहित)

राजविराज, ११ माघ । नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ बराबरको सामान डाँका गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतवार पत्रकार सम्मेलन गर्दै डाँका कार्यमा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । सिरहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, सोही नगरपालिका–३ ढगराहाका ३५ वर्षीय सुर्यनारायण महतो, सोही वडाका ३५ वर्षकै पवन जैसवाल र गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दिपक अग्रवाललाई पक्राउ गरिएको छ ।

पक्राउ परेकामध्ये यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै गत पुस २३ गते विहान सुरुङ्गा नगरपालिका–२ हर्दियामा रहेको नेपाल टेलिकमको जिएसएम टावरमा प्रयोग भएको करिब १० लाख मुल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केवल २५ मिटर लुटेका थिए । अन्य तीन जना भने उनलाई ती सामानहरु निकाल्नेदेखि खरिद–विक्री गर्नमा सहयोग रहेको अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा एसपी राजेन्द्र प्रसाद धमलाले बताए ।

घटनापछि टेलिकमबाट आएको निवेदनअनुसार अनुसन्धान गर्ने क्रममा सिसीटिभी, स्थानीयहरुको बयान र टेलिकमको सहयोगमा गत मंगलवार उनीहरुलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट डाँका गर्न प्रयोग गरिएको ना ४ ख ७२४६ नम्वरको मिनी ट्रक र ७ वटा ब्याट्री बरामद गरिएको छ भने अन्य १७ वटा ब्याट्री भारततर्फ पठाइसकेको एसपी धमलाले जानकारी दिए ।

उनीहरुमाथि डाँका सम्वन्धी मुद्दामा १० दिनको म्याद थप गराई अनुसन्धान भइरहेको जनाएको छ । सोही पत्रकार लागुऔषसहित पक्राउ परेका दुई जनालाई पनि सार्वजनिक गरिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित हनुमाननगरबाट तिलाठीतर्फ जाँदै गरेको सप्तकोशी नगरपालिका–८ का २३ वर्षीय देवनारायण खंग र भारतबाट लागु औषध ल्याउन लगाएका सोही नगरपालिका–४ का संतोष खड्कालाई सार्वजनिक गरिएको हो ।

खंगको साथबाट डाइलेक्स डिसी २ बोतल, लिजेस्टिक इन्जेक्सन १५ एम्पुल, डाइजेपाम इन्जेक्स २० एम्पुल, फेर्नागन इन्जेक्सन २१ एम्पुल र स्पास्मो प्रोसिभोम १४ क्याप्सल बरामद भएको छ । दुवैमाथि थप अनुसन्धान भइरहेको डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस