दाहाल–नेपाल पक्षद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलन घोषणा

जनकपुर । नेकपाका दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राख्ने निर्णयअनुसार सोमबार थप संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।

दाहाल–नेपाल पक्षका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सोमबार विज्ञप्ती जारी गर्दै माघ १३ गतेदेखि २८ गतेसम्मका आन्दोलन तथा संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विज्ञप्ति अनुसार माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस निकाल्ने, माघ १४ गतेदेखि २१ गतेसम्म संविधान सभाका सदस्य, संघीय सांसद तथा प्रदेश सांसदहरुले माइतीघर मण्डलामा धर्ना दिने, माघ १६ गते काठमाडौंमा शहीद श्रद्धाञ्जली कार्यक्रम गर्नेछ ।

यसैगरी माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गरिने र माघ २२ गते कठमाडौंमा युवा र्याली, २६ गते देशव्यापी मसाल जुलुर र माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा आयोजना गरिने विज्ञप्तिमा जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस