नेकपामा फेरबदललाई नमान्ने निर्वाचन आयोगको निर्णय, पहिलेकै पार्टी यथावत

जनकपुर । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै अध्यक्षले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको छ । विवरण हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने नदेखिएकोले साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ ।

आयोगको आइतवार साँझ बसेको बैठकबाट सो निर्णय भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दाहाल–नेपाल पक्षले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ भने ओली पक्षले केन्द्रीय सदस्य थप गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को धारा २५ को ५ र ६, नेकपाको अन्तरिम विधान २०७५ र संविधानको धारा धारा २९९ बमोजिम निर्णय लिइएको आयोगले जनाएको छ ।

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो । ओली र दाहाल–नेपाल पक्षले आफू आधिकारिक भएको भन्दै दर्ता गरेको निवेदन उपर छलफल गर्दै आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै दुबै समूह अलग–अलग भइ पार्टीका गतिविधिलाई तीव्रता दिँदै आएका छन् । दुवै पक्षले आफुहरुले मान्यता पाउनुपर्ने दावी गर्दै आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस