जनकपुर, १२ माघ । महोत्तरीको औरही नगरपालिका–४ कठुधारचौकमा आज टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । गौशाला–सम्सी सडकखण्डमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाईकल चालक बलवा नगरपालिका–९ का १९ वर्षीय प्रमोदराम चमार र पछाडी सवार औरही नगरपालिका–४ का १७ वर्षीय गुड्डु नदाफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहान ९ बजेतिर सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नम्वरको टिपरले विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटना पछि स्थानीयवासीले शव सडकमा राखेर केही बेर गौशाला–सम्सी सडकखण्ड जाम समेत गरेका छन् ।