सशस्त्र प्रहरीका बरिष्ठ हवल्दारमाथि विशेष अदालतमा मुद्दा दायर

जनकपुरधाम, ९ फागुन । घुस लिएको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार श्रवणकुमार बस्नेतमाथि आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामनगर, गौशाला महोत्तरीमा कार्यरत बरिष्ठ बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।

उजुरीको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई १५ हजार रुपैयाँसहित केही अघि पक्राउ गरेको थियो ।

बरिष्ठ हवल्दार बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले सो बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन माग गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस