मधेशलाइभको सम्पादकमा सन्तोष कुमार चौधरी नियुक्त

राजविराज, २३ फागुन । मधेशलाइभ डटकमको सम्पादकमा सन्तोष कुमार चौधरी नियुक्त भएका छन् । आइतवार अभिव्यक्ति मिडिया प्रालिको कार्यालय राजविराजमा आयोजित विशेष कार्यक्रममा सम्पादक चौधरीलाई स्वागत गरिएको हो ।

चौधरीलाई स्वागत गर्दै अभिव्यक्ति मिडिया प्रा.लिका अध्यक्ष समेत रहेका प्रदेश २ का आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले अनलाइनलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन व्यवस्थापनबाट भएको निर्णयअनुसार चौधरीलाई सम्पादकको जिम्मेवारी दिइएको जानकारी दिए । ‘सम्पादकको रुपमा उहाँ (चौधरी) नियुक्त भएपछि मधेशलाइभ अनलाइन अझ व्यवस्थित र प्रतिस्पर्धी हुने हाम्रो विश्वास छ,’ उनले भने ।

चार दशकअघि मूलधारको पत्रकारिता सुरु सम्पादक चौधरी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका संस्थापक उपाध्यक्ष, मधेशी पत्रकार समाजका संस्थापक अध्यक्ष हुँदै ‘अन्नपूर्ण पोष्ट’का सह–सम्पादक, ‘न्यूज टुडे’ सम्पादक समेत रहिसकेका छन् । नवनियुक्त सम्पादक चौधरी राजनीतिक शास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् भने उनी एक सफल कानूनी व्यवसायीको रुपमा समेत परिचित छन् ।

मधेशलाइभ डटकमका नवनियुक्त सम्पादक चौधरीले आफूलाई विश्वास गरेकोमा अभिव्यक्ति मिडिया प्रालिप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा अनलाइनलाई नयाँ उचाईमा पुर्याएको प्रतिवद्धता व्यक्त गरे । ‘आफुलाई विश्वास गरेकोमा यस मिडियाप्रति धन्यवाद व्यक्त गर्दछु’ नवनियुक्त चौधरीले भने–‘जुनसुकै सफलताका पछाडि टिमको ठूलो हात हुन्छ, मेरो कार्यकालमा अनलाइनलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य लिएको छु ।’

सोही कार्यक्रममा मधेशलाइभको सह–सम्पादकमा प्रियासिंह थारु र समाचार संयोजकमा सौरभ यादव नियुक्त गरिएको छ । १२ वर्षअघि पत्रकारीता सुरु गरेकी थारु आदीवासी जनजाति पत्रकार महासंघ सप्तरीकी अध्यक्ष र नेपाल थारु पत्रकार संघकी केन्द्रीय सदस्य समेत हुन् ।

नवनियुक्त सह–सम्पादक प्रिया सिंह थारुलाई स्वागत गर्दै अभिव्यक्ति मिडिया प्रालिका अध्यक्ष श्यामसुन्दर यादव ।

यसैगरी मधेशलाइभका स्तम्भकारमा अजयकुमार झालाई चयन गरिएको छ । उनी निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष समेत हुन् ।

स्तम्भकार अजय कुमार झालाई स्वागत गर्दै अभिव्यक्ति मिडिया प्रालिका अध्यक्ष श्यामसुन्दर यादव ।

कार्यक्रममा उपस्थित मधेशलाइभका सल्लाहकार समेत रहेका प्रदेश २ का मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराई र प्रालिका प्रबन्ध निर्देशक समेत रहेका मधेशलाइभका कार्यकारी सम्पादक विद्यानन्द रामले नवनियुक्त सम्पादक चौधरी, सह-सम्पादक थारु, समाचार संयोजक यादव र स्तम्भकार झालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए ।

मधेशलाइभ डटकमका संस्थापक सम्पादक यादव आम सञ्चार प्राधिकरण प्रदेश २ को अध्यक्ष पदमा नियुक्त भएपछि उनले सम्पादकको जिम्मेवारीबाट राजिनामा दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस