सप्तरी प्रहरीको १७ वर्षको अनुसन्धानपछि छुरा प्रहार गरी हत्या गर्ने आरोपी पक्राउ

राजविराज, २३ फागुन । सप्तरी प्रहरीले धारीलो छुरा प्रहार गरी हत्या गरेर फरार रहेका एक जना आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ परेका साविक लोहजरा गाविस वडा नम्वर ८ का ४३ वर्षीय देव नारायण मण्डललाई आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

मण्डलले २०६० पुस ८ गते विहान लोहजरा गाविस वडा नम्वर ८ कै ३१ वर्षीय सुक्रुत सदामाथि धारीलो छुरा प्रहार गरेका थिए । पेटमा छुरा लागेर आन्द्रा भुडी निस्केर गम्भीर घाइते भएका सदालाई उपचारको लागि धरानतर्फ लैजादै गर्दा मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका मण्डललाई शनिवार घरबाटै पक्राउ गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरीका कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

‘खोज तलाश हाम्रो जारी नै थियो । सोही क्रममा प्रतिवादी घरमै लुकिछिपी बसिरहेको भन्ने सूचना आयो’ उनले भने–‘सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी डिमनबाट खटिएको टोलीले मण्डललाई घरबाटै पक्राउ गरेको हो ।’ घटनाबारे थप कानूनी प्रक्रिया अघि बढाइएको एसपी धमलाले बताए ।

यो पनिः

सप्तरीमा वृद्ध दम्पतीको जलाएर हत्या घटनाः दुई वर्षसम्म पनि रहस्यमै !

Author:



क्याटोगरी छान्‍नुहोस