सप्तरीमा वृद्ध दम्पतीको जलाएर हत्या घटनाः दुई वर्षसम्म पनि रहस्यमै !

राजविराज, १४ फागुन । वृद्ध दम्पतीलाई आफ्नै घरमा जलाएर भएको हत्या घटनाको आज दुई वर्ष पूरा भएको छ । तर, घटना भने अझै रहस्यमै छ । सप्तरीको खडक नगरपालिका–५ खरचुहिया बजारमै घरमा सुतिरहेका ७५ वर्षीय सबुरी साह र उनकी ६५ वर्षीया पत्नी बेचनी देवी साहको ०७५ फागुन १४ गते जलाएर हत्या भएको थियो ।

मृत शरीर पूर्ण रुपमा जलिसकेकाले ईलाका प्रहरी कार्यालय कल्याणपुर, कडरबोना र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी टोलीले घटनाको प्रारम्भिक चरणमा अनुसन्धान सुरु गरेका थिए । घरभित्र र आँगनभरि ठाउँठाउँमा देखिएको रगतले वृद्ध दम्पतिको हत्या नै भएको विषय प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेका थिए ।

ब्याजमा ऋण रकम लगाउँदै आएका साह दम्पतिलाई डकैति गर्ने नियतले आएका लुटेराहरुले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान थियो । हत्यारालाई कानूनी दायरामा ल्याउनकालागि प्रदेश प्रहरी कार्यालयका विशेष अनुसन्धान टोली र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फोरेनसिक टिमले अनुसन्धान थाले ।

हत्यारालाई अति छिटो पत्ता लगाउन तालिम प्राप्त कुकुरको सहायताले पनि सुक्ष्म अनुसन्धान सुरु गरे । शरीर पूर्ण रुपमा जलिसकेकोले वृद्ध दम्पतिको डिएनए परीक्षण गर्न पनि पठाए । सोही क्रममा ब्युरो अनुसन्धान टोलीबाट ५ र सप्तरी प्रहरीबाट ५ र थप २० सुरक्षाकर्मीको विशेष टोलीले केहि सातासम्म घटनास्थलमै बसे ।

शंकास्पद व्यक्तिलाई सोधपुछ, कतिपय स्थानमा खानतलासी, कल डिटेल चेक लगायत अनुसन्धानका धेरै पाटोमा प्रहरीले कार्य गरे । तर, हत्या भएको दुई वर्ष वितिसक्दा पनि हत्यारा भने पत्ता लागाउन सकेको छैन् ।

दुई वर्षसम्म पनि पिडित परिवारले न्याय नपाउनु ज्यादै दुःखद रहेको भन्दै नागरिक अगुवाहरुले प्रहरीमाथि प्रश्न उठाउन थालेको छ । ‘पिडित परिवारले वर्षौसम्म न्याय नपाएका घटनाहरु धेरै छन् र यो ज्यादै दुःखद हो’ नागरीक अगुवा सुखराम यादवले भने–‘समाजमा शान्ति सुरक्षा कायम राख्नमा प्रहरीले तत्परता देखाउनुपर्ने थियो, तर यसरी वर्षौसम्म पिडित परिवारले न्याय नपाएको सुन्दा मन दुखेको छ ।’

पछिल्लो केही वर्ष यता प्रहरी असफल देखिएको भन्दै मानव अधिकारकर्मीहरुले पनि प्रश्न उठाउन थालेका छन् । ‘जघन्य अपराधमा पनि प्रहरीले अनुसन्धानमै वर्षौ विताउँछन्’ मानव अधिकारकर्मी जंगबहादुर सिंहले भने–‘घटना लगत्तै प्रहरीको थालेको अनुसन्धान देखेर हत्यारा पत्ता लाग्छ भने विश्वास थियो, तर पछिल्लो समयमा प्रहरीले अनुसन्धानमा तदारुकता देखाएको देखिदैन ।’

उनले अपराधीलाई कानूनी दायरामा ल्याएर प्रहरीले समाजप्रति बोकेको जिम्मेवारी पुरा गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । उता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले घटनामा अनुसन्धान भइरहेको बताए । ‘जबसम्म अनुसन्धान पूरा हुँदैन, तबसम्म घटनाको प्रगती शुन्य नै हुन्छ’ उनले मधेशलाइभलाई भने–‘केही समय लाग्छ प्रगती १ सय पुर्याउन ।’

को थिए, साह दम्पति ?

स्थानीयहरुका अनुसार गरिबका लागि देउता नै थिए, साह दम्पति । परेको वेला माग्न आउनेलाई रित्तो फर्काउँदैन्थ्यो कसैलाई । लामो समयदेखि खरचुहियामा बसोबास गर्दै आएका सबुरीको मुख्य घर तत्कालीन बनरझुला गाविस वडा नं. ३ हो ।

स्थानीयका अनुसार बनरझुलामा उनको मिलको व्यवसाय थियो । छोराहरू सत्यनारायण र तेजनारायण सरकारी जागिरे भएपछि उनीहरू मिल बेचेर खरचुहिया सरेका थिए । २ दशकदेखि हरेक दिनदुखीलाई समान्य ब्याजमा ऋण उपलब्ध गराउदै आएका थिए, उनीहरु ।

घटनाको करिब ५-७ वर्षअघि प्यारालाइसिसका कारण सबुरी थला परेपछि पत्नी बेचनीले ऋणको कारोबार गर्दै आएकी थिइन् । उनीहरूको करिब ३० देखि ४० लाख रुपैयाँ गाउँमा लगानी रहेको स्थानीयको अनुमान छ ।

बजारभरिका सवैसँग मिल्ने स्वभावका साह दम्पतिले कसैले कसैको विगार नगरेको स्थानीयहरु बताउँछन् । मृतक दम्पतिका सत्यानारायण र तेजनारायण गरि दुई छोरा छन् ।

दुवै छोरा इन्जिनियर पदमा जेठो सत्यारायण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कान्छो तेजनारायण खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय उदयपुरमा कार्यरत रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780