महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव : मुख्यमन्त्री राउत

जनकपुरधाम, २४ फागुन । प्रदेश २ सरकारले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत १ हजार ५२० जना छात्राहरुलाई साइकल वितरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा सोमबार आयोजना गरिएको एक समारोहमा कक्षा ८ का छात्राहरुलाई मुख्यमन्त्री लालबाबु राउतले साइकल वितरण गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए । सामाजिक रुपान्तरणमा सहयोग हुने उद्देश्यले प्रदेशभरका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण भइरहेको मुख्यमन्त्री राउतले बताए । ‘साइकलले महिला सशक्त हुँदैन’ उनले भने–‘तर सामाजिक रुपान्तरणको लागि सहयोगी पक्कै हुन्छ ।’

उनले शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि पारिएका महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रदेशका छोरीहरुलाई शिक्षित र सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियान ल्याएको भन्दै मुख्यमन्त्री राउतले महिला हिंसा, दाइजो प्रथा, वालविवाह जस्ता कुरिती विरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि प्रतिवद्धता जनाए ।

उपसभामुख उपमा देवको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस