राजविराज, १२ चैत । सप्तरीमा आज (विहिवार) दिउँसो आगलागी हुँदा तीन वटा घर जलेर छ लाख रुपैयाँ बराबरको सरसमान खरानी भएको छ । सुरुङ्गा नगरपालिका–३ भुसिमौलियामा आगलागी भएको हो ।
आगलागीमा सोही ठाउँका विन्दुलाल साह, जिलोविया पाल र रामपृत पालको १–१ वटा घर जलेको छ । साहको घरसहित घरभित्र रहेको अन्नपात, लत्ताकपडा गरी एक लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी, जिलोवियाको एक नगदसहित दुई वटा बाख्रा, अन्नपात, लत्ताकपडा गरी ३ लाख रुपैयाँ र रामपृतको घरमा डेढ लाख रुपैयाँसहित अन्नपात, गरगहना गरी २ लाख रुपैयाँको सरसमान जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।
आगो प्रहरी चौकी लक्ष्मिपुर, ईलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी, स्थानीयवासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा आएको जनाएको छ ।