प्रदेश २ : होलीमा कुटपिटदेखि चक्कु प्रहारसम्म, १५ जना घाइते

राजविराज, १७ चैत । प्रदेश २ मा होलीको दिन (सोमवार) कुटपिटदेखि चक्कु प्रहार गरी घाइते बनाएका घटनासम्म भएको छ । महोत्तरीको मटिहानी नगरपालिका–१ मा कुटपिट भएको हो ।

हिन्दु र मुस्लिम समूदायबीच भएको कुटपिटमा परेर दुवैतर्फका ७–७ जना घाइते भएका छन् । सबै जनालाई उपचारको अस्पताल भर्ना गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । यसैगरी धनुषाको मिथिला नगरपालिका–१ मा चक्कु प्रहारबाट एक घाइते भएका छन् । चक्कु प्रहार गर्नेलाई नियन्त्रणमा लिएको जनाएको छ ।

६५ जनालाई कारवाही, ५४७ सवारी नियन्त्रणमा

प्रदेश २ मा होलीको दिन ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ६५ जनालाई कारवाही गरिएको छ भने ५४७ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । जथाभाबी र तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेल्मेट नलगाउने र कागजपत्र नबोकेका गरी ६५ जनालाई कारवाही गरिएको प्रदेश प्रहरी कार्यालयका डिएसपी नवरतन पौडेलले जानकारी दिए ।

उनका अनुसार सर्लाहीका ३५ जना, पर्साका १५ जना, धनुषाका ७ जना, बारा र रौतहतका ४–४ जना कारवाहीमा परेका छन् । यसैगरी ५४३ वटा मोटरसाइकल, २ वटा स्कुटर, एउटा ट्याक्टर र एउटा अटो नियन्त्रणमा लिइएको डिएसपी पौडेलले बताए ।

सबैभन्दा बढी सप्तरीबाट १४५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । यसैगरी सिरहाबाट १०८ वटा मोटरसाइलक, धनुुषाबाट ५४ वटा मोटरसाइकल र एउटा ट्याक्टर, महोत्तरीबाट ५१ वटा मोटरसाइकल, रौहतटबाट ९ वटा मोटरसाइकल, एउटा स्कुटर र एउटा अटो, पर्साबाट ८१ वटा मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिइएको छ ।

होलीमा हुन सक्ने अप्रिय घटनालाई लक्षित गरी प्रदेशका ८ वटै जिल्लामा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सदा पोसाकका प्रहरी गरी साढे सात हजार प्रहरी परिचालन गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस