पत्रकार महासंघ सप्तरीः अध्यक्षमा देव, उपाध्यक्षमा यादव [कसको कति मत ?]

राजविराज, २६ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्षमा श्रवण देव निर्वाचित भएका छन् । विहिवार विहान सम्पन्न मतपरिणामअनुसार देवले ५२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी मनोहर कुमार पोखरेलले ४५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत बैद्यनाथ झाले जानकारी दिए ।

यसैगरी उपाध्यक्षमा पोखरेल प्यानलका बैद्यनाथ यादव र उपाध्यक्ष (महिला)मा देव प्यानलकै अम्बिका दाहाल निर्वाचित भएका छन् । यादवले ५२ तथा दाहालले ४६ मत प्राप्त गरेका हुन् । यादवको प्रतिद्वन्दी विनय कुमार लाल कर्णले ४६, दाहालका प्रतिद्वन्दी पार्वती कुमारी सिंहले ४४ र स्वतन्त्रबाट उम्मेदवार बेनकी रक्षा कुमारी चौधरीले छ मत प्राप्त गरेका छन् ।

सचिव, सह–सचिवमा पनि पोखरेल प्यानलकै रामनारायण विश्वास र चन्दन कुमार यादवले क्रमश ६० र ६७ मत पाएर निर्वाचित भएका छन् । विश्वासको प्रतिद्वन्दी सतिष कुमार दत्तले ३५ र यादवका प्रतिद्वन्दी कृष्णदेव यादवले ३१ मत पाएका हुन् ।

यसैगरी सहसचिव (समावेशी) र कोषाध्यक्षमा देवकै प्यानलबाट निर्वाचित भएका छन् । सहचिव (समावेशी)मा गोपाल प्रसाद गुप्ताले ५४ र कोषाध्यक्षमा नविन गुप्ताले ५६ मत पाएर जितेका छन् । सहसचिवि गुप्ताको प्रतिद्वन्दी डम्बर बहादुर राईले ४४ र कोषाध्यक्ष गुप्ताको प्रतिद्वन्दी शुभचन्द्र झाले ४१ मत पाएका छन् ।

सदस्यतर्फ पोखरेल प्यानलका कृष्ण कुमार मण्डल (आदीवासी जनजाति), विद्यानन्द राम र राजेन्द्र कुमार मिश्र निर्वाचित भएका छन् । मण्डलले ४९, रामले ५५ र मिश्रले ४९ मत पाएर निर्वाचित भएका छन् । सोही प्यानलबाट महिला सदस्यमा रश्मी झा र दलित सदस्यमा राजकुमार पासवान यसअघि नै निर्वाचित भइसकेका छन् ।

यसैगरी देव प्यानलका दिनानाथ यादवले ४९ मत ल्याएर निर्वाचित भएका छन् । सदस्य पदमा अन्य ४ जनाले बराबर (४४/४४) मत पाएकाले उनीहरुबीच गोलाप्रथाबाट एक जना निर्वाचित गराइने प्रमुख निर्वाचन अधिकृत झाले बताए । चार जनामा २ जना पोखरेल र २ जना देव प्यानलका छन् । पोखरेल प्रेस मञ्च नेपाल र प्रेस चौतारी नेपालकोतर्फबाट र देव प्रेस यनियन र प्रेस संगठनकोतर्फबाट उम्मेदवारी दिएका थिए ।

यसैगरी स्वतन्त्रतर्फ खुला सदस्यमा भोला रमण उप्रेतीले १४ मत पाएको निर्वाचन समितिले जनाएको छ । एक सय जना मतदाता रहेको सप्तरी शाखामा बुधवार मतदान भएको थियो । कुल मतमध्ये ९८ प्रतिशत अर्थात ९८ वटा खसेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस