सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक किसानको ज्यान गयो

राजविराज, ३ वैशाख । सप्तरीमा गहुँ जोगाउन पहरा गर्न खेत पुगेका एक किसानको जंगली हात्तीको आक्रमणमा परेर ज्यान गएको छ । गए राति खेत पुगेका हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ६५ वर्षीय नारायण प्रमानी राजधोबमाथि हात्तीले आक्रमण गरेको हो ।

कोशी टप्पु वन्यजस्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणबाट उनको खेतमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । विहान साढे ७ बजेतिर मात्र सो बारे जानकारी भएको उनले बताए ।

‘घटनास्थलमा हात्तीको पाइला देखिएको छ भने मृतकको छाती, हातसहित शरीरको विभिन्न भागमा निल डाम देखिएकोले हात्तीको आक्रमणबाट उनको मृत्यु वुझिन्छ’ उनले भने–‘शव र घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान थालिएको छ ।’

शवलाई पोष्टमार्टमको लागि अस्पतालतर्फ पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस