विराटनगरका विद्यालय भोलिदेखि एक साता बन्द

बिराटनगर । विराटनगर महानगरपालिकाले महानगरक्षेत्रका विद्यालय एक साता बन्द गर्ने तयारी गरेको छ । परीक्षाको तयारीका लागि सोमबारदेखि विराटनगरका विद्यालय एक हप्ता विदा दिइन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङलाई कोरोना महामारीको अति प्रभावित जिल्लामा राखेपछि महानगरको नगर शिक्षा समितिको बैठकले महानगरभित्रका सबै विद्यालय वैशाख ६ देखि १३ सम्म विदा दिने निर्णय गरेको हो ।

त्यसपछि पनि कोरोना महामारीको प्रभाव हेर्दै आलोपालो गरी परिक्षा सञ्चालन गराउन लगाउने शिक्षा समितिले निर्णय गरेको छ । कोरोना महामारीको ‘चेन ब्रेक’ गर्न पनि एक हप्ताको लागि परीक्षा तयारी विदा दिने निर्णय गरिएको नगर शिक्षा समितिका सदस्य दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

‘कोरोना चेन ब्रेक गर्न र परिक्षाको तयारीका लागि भोलिदेखि एक हप्ता विदा दिने निर्णय भएको छ । त्यसबारे अहिले एकछिनमा सूचना निस्किँदैछ । १३ गतेदेखि विद्यालयका वार्षिक परिक्षाहरू आलोपालो गरेर सञ्चालन गर्ने भन्ने निर्णय भएको छ,’ खतिवडाले भने, ‘१३ गतेपछि मापदण्ड पालना गर्दै आलोपालो पद्दति अपनाएर विद्यालयका वार्षिक परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय भएको छ । परीक्षा सकिएपछि जेठको २ गतेभित्र विद्यालयले नतिजा प्रकाशन गर्छ । त्यसपछि केही समय कोरोनाको अवस्था हेरेर विदा दिनुपर्नेमा विदा हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस