बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयो

बिनय यादव
सिरहा । सिरहाको औरही गाउँपालिकाकी एक माहिलामाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार भएको छ । वडा नम्वर ५ की ५० वर्षीया सुनीतादेवी साह (नाम परिवर्तन)लाई बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिटसहित मलमूत्र पनि खुवाइएको छ ।

गाईलाई टुना लगाएर मारेको भन्दै शनिबार बिहान साढे ६ बजे भतिजा र बुहारीहरूले कुटपिट गरी मलमूत्र खुवाएका हुन् । आफूमाथि जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएको भन्दै सुनीतादेवीले न्यायको गुहार गर्न थालेपछि घटना बाहिरिएको हो । उनका अनुसार भतिज घुरन साहले हात समातेर भुइँमा लडाएको र बुहारीहरू कौशिला, निशा र कविताले मानव मलमूत्र खुवाएको छ ।

गत वैशाख २ गते जुडशीतलका दिन सुनीतादेवीको जेठाजुका छोराबुहारीलाई पानी बोकेर आशीर्वाद दिन उनीहरूको घर पुगेकी थिइन् । पानी छर्किने क्रममा घरमा रहेको गाईमाथि पनि पानी परेको थियो । जिउमा पानी परेको गाईको शनिबार बिहान मृत्यु भएपछि टुना गरेर गाई मारेको भन्दै सुनीतादेवी अमानवीय व्यवहारको शिकार भएकी हुन् ।

‘गाई मरेपछि भतिज र बुहारीहरुले तथानाम गाली गर्दै सडकमा घिसार्दै कुटपिट गरे’ पीडित सुनीतादेवीले भनिन्–‘घुरनले पाखुरा र हात समातेर भुइँमा लडाएको र बुहारीहरूले जबर्जस्ती मलमूत्र खुवायो ।’

आफुमाथि अमानवीय व्यवहार भइरहँदा पनि स्थानीयहरु भने रमिते हेर्ने दर्शक मात्र सावित भएको उनको दुखेसो छ । गाईलाई आफूले नभई घुरनले नै पानी छर्केको तर, आरोप आफूलाई लगाएर अमानवीय व्यवहार गरेको उनको भनाई छ ।

सुनीतादेवीका पति रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् । उनीमाथि कुटपिट हुँदा दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा थिए । उनले आमालाई बचाउने प्रयास त गरिन्, तर केहि चलेन । पीडित सुनीतादेवीले दोषीमाथि कडा कारवाही गर्न माग गरेकी छिन् ।

घटना लुकाउन पीडितलाई दबाब

आफूमाथि अमानवीय व्यवहार भएपछि पीडित सुनीतादेवीले उजुरी गर्न प्रहरी चौकी औरही पुगिन् । तर, स्थानीय श्रीदेव यादवलगायतले गाउँमै मिलापत्र गर्ने गरी फर्काएको उनी बताउँछिन् ।

‘आफन्तबीचको घटना भएकाले प्रहरीमा जानुभन्दा गाउँमै मिल्नु राम्रो हुन्छ भनेर श्रीदेवले फर्काए’ उनले भनिन्–‘बोक्सीको आरोपमा कुटपिट गर्ने र मलमूत्र खुवाउने घटनाका दोषीलाई कानुनी कारबाही गराउनुको सट्टा गाउँमै पञ्चायती गरेर मिलापत्र गराउने कार्यले झन दुखित तुल्याएको छ ।’

उता, बोक्सीको आरोप लगाउँदै काकीलाई यातना दिने घुरन साह भने फरार भएका छन् । प्रहरीले सो घटनामा संलग्न कौशिला, निशा र कवितालाई पनि नियन्त्रणमा लिएको छैन । प्रहरी चौकी औरहीका प्रहरी सहायक निरीक्षक कलानन्द यादवले घटनाबारे लिखित उजुरी नआएकाले कसैलाई नियन्त्रणमा नलिएको बताए ।

पत्रकारमाथि दुर्व्यवहार

सो विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार भएको छ । नयाँ पत्रिकाका सिरहा संवाददाता सुरेन्द्रकुमार कामती र एभिन्यूज टेलिभिजनका सिरहा संवाददाता शुभनारायण कामतीमाथि दुर्व्यवहार भएको हो ।

उनीहरूमाथि आरोपित पक्षका रामचन्द्र साहले दुर्व्यवहार गरेका हुन् । गाउँमै घटना मिलाउन चाहेको, तर पत्रकारको टोली पुगेपछि घटना बाहिरिने र कारबाही हुने भयले साहले गालीगलौज गर्दै कुटपिटको धम्की समेत दिएका छन् ।

दुर्व्यवहार घटनाको पत्रकार महासंघ सिरहाले भत्र्सना गर्दै पत्रकारद्वयलाई गालीगलौज र कुटपिटको धम्की दिनेलाई कडा कारबाहीको माग गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस