सामाजिक अभियानता गुरुसरणको मृत्यु, कोरोनाको आशंका

लहान, ६ बैशाख । लामो समयदेखि सामाजिक तथा संगीत क्षेत्रमा क्रियाशिल रहेका गुरुसरण सदाको आज मृत्यु भएको छ । केही दिनदेखि वान्ता, उच्च ज्वरो र पेट दुख्ने जस्ता समस्याले पीडित बनेका सिरहाको गोलबजार नगरपालिका–६ का ३३ वर्षीय सदाको मृत्यु भएको हो ।

स्वास लिन गाह्रो हुन थालेपछि उपचारकोलागि उनलाई गोलबजारस्थित भूमिजा हस्पिटलमा लगिएको थियो । थप उपचारकोलागि धरानतर्फ लैजाने क्रममा उनको मृत्यु भएको उनको जेठान अरुण सदायले बताए । काठमाडौंस्थित सेभ द चिल्ड्रेनमा कार्य गर्दै आएका उनी केहि दिनअघि मात्र घर आएका थिए ।

जातिय सुधारकोलागि सबरी संकल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा लामो समयदेखि सक्रिय रहेका उनले दर्जनबढी मैथली तथा नेपाली गीत लेखन, गायन र आफैले अभिनय समेत गरेका छन् । उनका श्रीमती र दुई छोरा छन् ।

यता, स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले कोरोनाकै जस्तो लक्षण देखिएर उनको मृत्यु भएको बताए । ‘आफन्तहरुको भनाइअनुसार उनमा वान्ता आउने, उच्च ज्वरो र पेट दुख्ने जस्ता समस्या देखिएको थियो र वेहोस भएर स्वास फेर्न समस्या भइरहेको कुरा आएको छ’ उनले मधेशलाइभसँग कुरा गर्दै भने–‘त्यसैको आधारमा कोरोनाको आशंका गरिएकोले मृतकको सेम्पल कलेक्शन गरेर परीक्षणमा पठाएको छु ।’

भोली (मंगलबार)सम्म रिपोर्ट आएपछि मात्रै सो बारे स्पष्ट हुने प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस