शिवकुमार हत्या प्रकरण : अभियुक्त विष्णु र इन्द्रदेव पुर्पक्षका लागि कारागार चलान

लहान । सिरहाका शिवकुमार यादवको हत्याका दुवै अभियुक्तलाई कारागार चलान गरिएको छ । मिर्चैया नगरपालिका ७ लिकटोलका २४ वर्षीय यादवको हत्याका दुवै अभियुक्तलाई जिल्ला अदालत सिरहाले मंगलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

हत्या अभियुक्त मृतकका आफ्नै काकाका छोरा मिर्चैया ७ कै २७ वर्षीय विष्णु यादव र विष्णुका जेठान मिर्चैया ९ का २४ वर्षीय इन्द्रदेव यादवलाई कारागार चलान गरिएको अदालतले जनाएको छ । शिवकुमारको शव बीभत्स हत्या भएको अवस्थामा गत ८ चैतको बिहान मिर्चैया नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्ग छेउको आँपको बगैँचामा फेला परेको थियो ।

शिवकुमारको हत्याको ५ दिनपछि प्रहरीले दुवै अभियुक्त सार्वजनिक गरी उनीहरूमाथि अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको थियो । शिवकुमारको हत्या आफूहरूले नै गरेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका थिए ।

परिवारिक रिसिइबी साँध्ने मनसायले विष्णुले जेठान इन्द्रदेवको सहयोगमा शिवकुमारको हत्या गरेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस