राजविराज कारागारका १२ जना कैदीबन्दीको कैद मिनाहा

सप्तरी, १५ जेठ । सरकारले गणतन्त्र दिवसको अवसरमा राजविराज कारागारका १२ जना कैदीबन्दीको कैद मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले यहाँका १२ सहित ४३० कैदीबन्दीलाई बाँकी कैद कट्टा गरी माफी दिएकी हुन् ।

राजविराज गारागारका जेलर सुमन कोइलाराका अनुसार यहाँका एक महिलासहित १२ जना कैदीबन्दीको कैद मिनाहा भएको हो । जसमा सवारी ज्यान, बहुविवाह, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बालविवाह मुद्दाका कैदी छन् ।

सवारी ज्यान मुद्दाका ६ जना, बहुविवाहका २ जना, कर्तव्य ज्यानका १ जना, ज्यान मार्ने उद्योगका २ जना र बालविवाहका १ जना कैदीको कैद मिनाहा भएको जेलर कोइलाराले बताए । कैद मिनाहा हुनेहरुमा सप्तरीका ९ जना छन् भने दाङ, धनुषा र सुनसरीका १–१ जना रहेको जेलर कोइलाराले जानकारी दिए ।

यसअघि राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पनि यहाँका १० जना कैदीबन्दीको कैद मिनाहा भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस