बढ्यो वृद्धभत्ता, अब मासिक ४ हजार पाउने

जनकपुरधाम । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिए । यसका लागि १ खर्ब छुट्याएको उनले जानकारी दिए ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।

कसले पाउँछन् वृद्धभत्ता ?

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले ७५ वर्ष पुरा भएका वृद्धवृद्धाका लागि मासिक एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता घोषणा गरेका थिए । अहिले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता दिने गरिन्छ । २०६० सालमा अधिकारीले नै वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्याएका थिए । २०६५ सालमा बाबुराम भट्टराईले यस्तो भत्तामा भारी वृद्धि गरि मासिक ५ सय रुपैयाँ पुर्‍याएका थिए ।

२०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा. रामशरण महतले १ हजार पुर्‍याएका थिए । अर्को वर्ष २०७२ सालमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धिगरि मासिक दुई हजार पुर्‍याए । उक्त रकमलाई २०७६ सालमा डा. युवराज खतिवडाले मासिक तीन हजार पुर्‍याएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस