तीन दिनदेखि जञ्जीरमा बाँधिएर किशोरलाई यातना !

राजविराज, २४ वैशाख । सामाजिक सञ्जालमा शुक्रवार एकाविहानैदेखि सप्तरीमा एक किशोरलाई हातखुट्टामा साङ्लो (जञ्जीर)ले बाँधेको तस्विर भाइरल भइरहेको छ । सामाजिक अभियन्तादेखि सर्वसाधारणसम्मको फेसबुक वालमा देखिएको सो तस्विर निकै दर्दनाक छ ।

ती किशोरको हातखुट्टामा साङ्लोले बाँधेर ताला लगाइएको छ भने परालमा बस्न लगाइएको सो दृष्यले मानव दुनियाँमा क्रुरता बढिरहेको पनि छर्लङ्ग हुन्छ । अपराध गर्नेलाई कानूनी दायरामा ल्याउन जरुरी छ र ल्याउनु पनि पर्छ । तर यसरी कानूनको उपहास गर्ने खालका कार्य गर्नेलाई पनि कानूनी दायरामा ल्याउन जरुरी रहेको मानव अधिकारकर्मीहरु बताउँछन् ।

के हो घटना ?

घटना छिन्नमस्ता गाउँपालिका–६ कुपही टोलको हो । स्थानीयका अनुसार वैशाख २१ गते राति सोही ठाउँका संजय पण्डितले सञ्चालन गर्दै आएको मदिरा पसलमा चोरी भयो । चोरीको आंशकामा सोही ठाउँका १८ वर्षीय शिवकुमार मुखियालाई दोस्रो दिन (वैशाख २२ गते) विहान घरबाटै समातेर ल्याए र हातखुट्टामा साङ्लोले बाँधेर यातना दिन थाले ।

‘खाना पानी केही नदिई भोक–भोकै उनलाई बाँधेरै राखे र दुई दिनसम्म त पानी पनि दिएन’ स्थानीय कपिल मुखियाले भने–‘भोकले छटपटाएको देखेपछि आफूले उनको जिम्मा लिएर २३ गते राति घर ल्याए पनि ।’

आज (शुक्रवार) पञ्चायती बस्ने भनिएकाले विहान मैले उनलाई त्यहाँ ल्याइदिएको उनले बताए । ‘पञ्चायती बसे पनि निर्णय भने पसलेले मानेनन्, र पुनः साङ्लोमा बाँधेर उनलाई यातना दिइरहे ।’
घटनाबारे ईलाका प्रहरी कार्यालय सखडामा जानकारी गराए र त्यहाँबाट हिजो (२३ वैशाख) प्रहरी पुगे पनि गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डलका छोरा सत्यनारायणले गाउँमै मिलापत्र गर्ने भन्दै प्रहरीलाई हप्काएर पठाएको स्थानीयहरु बताउँछन् । ती किशोरलाई गाउँपालिका अध्यक्ष मण्डलका छोरा सत्यनारायणले त्यसपछि पनि कुटपीट गरे । र पछि आएका अध्यक्ष सुर्यनारायणले पनि किशोरलाई कुटेको स्थानीयहरुको आरोप छ ।

यता, मुखियाले चोरी स्वीकारेको दावी व्यापारी पण्डितको भनाई छ । चोरीमा संलग्न रहेका अन्य दुई जना फरार रहेको आरोपीले नै बताएको पण्डित बताउँछन् ।

के भन्छन् गाउँपालिका अध्यक्ष मण्डल ?

गाउँपालिका अध्यक्ष मण्डलले ती किशोर चोरी गरेकोले कुटेको मधेशलाइभलाई प्रतिक्रिया दिए । ‘चोर कुनै ७ सरकार हो र ?, चोरलाई पूजा गर्ने होइन् नि’ उनले भने–‘मेरो पनि मोटर चोरी भएकोले म त्यहाँ पुग्ने वितिकै सोधे मेरो मोटर दे र नमानेपछि मैले कुटे ।’

‘मैले कुन गल्ती गरे, अरु कुनै कुरा बुझ्ने भने उसलाई जिल्ला लगेको छ, त्यही गएर सोध्नुस्’, उनले भने ।

के भन्छन् एसपी ?

सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले ती किशोरलाई जिल्ला ल्याइरहेको बताए । ‘चोरी गरेकाले बाँधेर राखेको किशोरलाई जिल्ला ल्याउन प्रहरी खटाएका छौं’ उनले भने–‘अन्य कुराहरु अनुसन्धान हुँदैछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस