वीरगन्जमा अस्थायी कोभिड अस्पताल सञ्चालन

वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। अस्पतालमा शैया अभाव भएपछि वीरगन्ज महानगरपालिकाले २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ ।

वीरगन्ज १० घडीअर्वास्थित गोपाल मण्डली अतिथी सदनमा महानगरपालिकाले शुक्रबारदेखि २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर संचालनमा ल्याएको हो । शुक्रबार बिहान गोपालमण्डली अतिथी सदनमा एक कार्यक्रम गरेर महानगर प्रमुख विजय कुमार सरावगीले कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

महानगरले सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पतालमा पहिलो बिरामी महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन् । कार्कीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्सा जिल्लामा संक्रमितको संख्या अप्रत्याशीत रुपमा बढ्दै गएपछि एक हप्ता पहिले बसेको जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र (डिसिसिएमसी) को मङगलबार बसेको बैठकले वीरगन्ज महानगरपालिकाले कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

त्यहि निर्णयअनुसार ,वीरगन्ज महानगरपालिकाले भने २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर स्थापना गरी शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । महानगरले सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरमा सामान्य लक्षण भएका र लक्षण नदेखिएका संक्रमितलाई भर्ना गरि उपचार गरिने महानगर प्रमुख सरावगीले बताए ।

सरावगीका अनुसार , कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरमा डिएम (डक्टोरेट इन मेडिसिन) १ जना , एमडी (मेडिकल डाइरेक्टर) २ जना र मेडिकल अफिसर ८ जना गरि ११ जना चिकित्सक खटाइएको छ ।

यसका साथै प्यारामेडिकल स्टाफ २१ जना, सरसफाइकर्मी ८ जना र १० जना प्रशासनिक कर्मचारी पनि खटाइएको नगर प्रमुख सरावगीले जानकारी दिए । सरावगीका अनुसार , वीरगन्जमा कोभिड संक्रमितहरुको संख्या वढ्दो अवस्थामा रहेको र होम आइसोलेसनमा रहेका संक्रमितलाइ समेत अक्सिजन दिनुपर्ने अवस्था छ ।

तर अस्पतालमा उपचार गर्ने ठाउँको कमी भएकाले महानगरपालिकाले आफ्ना नागरिकको जीवन रक्षाका लागि कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर संचालनमा ल्याएको सरावगीले वताए ।

उनले भने ,‘ वीरगन्जमा अहिले हजारभन्दा बढी संक्रमित अस्पतालमा बेड नपाएर, होम आइसोलेसनमा छन् , ती मध्ये केही संक्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि र अक्सिजन दिनुपर्ने अवस्था छ, त्यस्ता संक्रमितलाई कोभिड अस्थायी अस्पतालमा भर्ना गरेर उपार गरिन्छ ।’

होम आइसोलेसनमा अक्सिजन प्रयोग गरिरहेका संक्रमितको अवस्था समेत जटिल बन्न थालेकोले डाक्टरको निगरानीमा उपचार गर्न महानगरपालिकाले कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको उनले बताए ।

सरावगीकाअनुसार  महानगरको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसनमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खाना समेत महानगरपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउनेछ ।

कोभिड संक्रमणको पहिलो लहरका बेला पनि वीरगन्ज महानगरपालिकाले वीरगन्जको गण्डकस्थित गण्डक अस्पताललाइ भाडामा लिएर अस्थायी कोभिड अस्पताल संचालन गरेका थियो भने सिद्धार्थ माविमा आइसोलेसन सेन्टर स्थापना गरि सञ्चालनमा ल्याएको थियो । उ बेला गण्डक कोभिड अस्पतालमा ४०४ जना र सिद्धार्थ माविको आइसोलेसन सेन्टरमा १२३ जना संक्रमितको उपचार गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस