सर्लाहीमा शनिबार रातिबाट निषेधाज्ञा

जनकपुरधाम । कोरोना संक्रमण तीव्र रुपमा बढदै गएपछि सर्लाही प्रशासनले वैशाख २५ गते राति १२ बजेबाट जिल्लाभरमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको बैठकले जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस जिल्लाको विभिन्न स्थानमा बढ्दै गएकाले शनिबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।

निषेधाज्ञा अवधिमा सार्वजनिक यातायात, निजी सवारी साधनमा रोक लगाइएको छ।

यस अवधिमा एम्बुलेन्स, शववाहन, खाद्यसामग्रीको ढुवानी गर्ने सवारी साधन, सरकारी नम्बर प्लेटको सवारी साधन, झण्डावाहक सवारी, कूटनीतिक नियोगको सवारी, प्रेस पास प्राप्त सवारी साधन चलाउन पाउनेछ।

बैठकले निषेधाज्ञाको अवधिमा रेस्टुरेन्ट, ब्युटीपार्लर, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र अन्य सबै पसल खोल्न रोक लगाएको छ।

त्यस्तै, अत्यावश्यक सार्वजनिक सेवा, बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधिजन्य पसल, पेट्रोल पम्प खोल्न दिने निर्णय गरेको छ।

खाद्यान्न, फलफूल तरकारी, डेरी, ग्यास पसललाई बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुल्न दिने निर्णय भएको प्रजिअ तामाङले बताए ।

निषेधाज्ञामा विवाह ब्रतबन्ध, न्वारान, मृत्यु संस्कारलगायत कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक दूरी कायम गरी बढीमा १५ जनालाई उपस्थित हुन दिने निर्णय भएको छ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चमा नित्य पूजाबाहेक अन्य सामूहिक पूजा तथा बलि, मेला महोत्सवमा रोक लगाइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस