नक्कली रेमडिसिभिर विक्री गर्ने आलम र यादव पक्राउ

विराटनगर । मोरङ प्रहरीले नक्कली रेमडिसिभिर (कोरोना संक्रमितको उपचारमा प्रयोग हुने) औषधीसहित दुई जना व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१० अशोक चौकका २६ बर्षीय सोनु आलम र वडा नम्वर १६ रानीका २३ बर्षीय श्रवण कुमार यादव छन् ।

आलम विराटनगर–४ स्थित साथी मेडिकल औषधी पसल गर्दै आएका छन् भने यादव पनि सोही कार्यमा संलग्न छन् । बिशेष सुचनाको आधारमा शुक्रवार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले संचालन गरेको औषधी पसलमै खानतलासी गर्दा नक्कली रेमडिसिभिर औषधी पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आलमले स्टासेफ (९० रुपैयाँ पर्ने) औषधी खरिद गरी रेमडिसिभिर औषधीको नक्कली स्टिकर टाँस गरी ८ हजार रुपैयाँसम्ममा विक्री गर्दै आएका थिए । उक्त स्टिकर भारतको पटनाबाट आयात गरेको अनुसन्धानबाट खुल्न आएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सो कार्यमा यादवले सघाउँदै आएका थिए भने यादव यसअघि पनि २०७७ साल कार्तिक २५ गते विराटनगर–११ बसपार्कस्थित एक होटलबाट १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार थिए ।

यादवलाई शुक्रबारै विराटनगर–१६ रानीस्थित घरबाटै पक्राउ गरिएको छ । आलममाथि कालोबजार र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारवाही प्रकृया अगाडी बढाईएको छ भने यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारवाही प्रकृया अगाडी बढाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस