संक्रमितलाई घरमै औषधि पुर्याउँदै गाउँपालिका

राजविराज, ३ जेठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले कोरोना संक्रमितहरुलाई घरमै पुगेर औषधि वितरण गर्न थालेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण दर र संक्रमितहरुले औषधि ल्याउन नसकिने अवस्थालाई मध्य नजर गर्दै घरमै पुगेर औषधि वितरण कार्य सुरु गरेको हो ।

आइतबारदेखि वडा नम्वर १ तिलाठीबाट गाउँपालिकाको कोभिड १९ सम्पर्क व्यक्ति जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा र जनस्वास्थ्य निरीक्षक दिपक मण्डलले औषधि वितरण सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले जानकारी दिए ।

होम आइसोलेसनमा रहेका संक्रमितहरु आवश्यक औषधि खरिद गर्न नसक्ने कुरालाई ध्यानमा राखी चिकित्सकको परामर्शअनुसारको औधषि घरदैलोमै पुर्याउने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बताए । ‘अभियान अन्तर्गत स्वास्थ्यकर्मी पनि घरदैलोमा हुन्छन्’ उनले भने–‘यो कार्यले औषधि पुर्याउने काम हुनुकासाथै संक्रमितको स्वास्थ्य अवस्थामाथि पनि निगरानी गर्न सकिन्छ र त्यसैका लागि हामीले घरदैलो अभियान थालेका छौं ।’

हाल गाउँपालिकामा संक्रमितको संख्या बढ्दो रहे पनि नियन्त्रण तथा रोकथामका लागि प्रयासरत रहेको उनले बताए । दोस्रो लहरमा एन्टीजेन जाँचबाट ७ जनासहित गाउँपालिमा ४७ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ३७ पुरुष र १० जना महिला छन् भने दुई जना पुरुषको मृत्यु भएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले बताए । उनका अनुसार गाउँपालिकाको वडा नम्वर १ बेल्हीस्थित भन्सार चौकमा चैत्र १२ गतेदेखि सञ्चालित हेल्थ डेस्कमा जेठ २ गतेसम्ममा भारतबाट फर्किएका १ हजार १९१ जनाले जाँच गराएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस