गजेन्द्रनारायण सिंह अस्पतालः कति समयसम्म धान्ला अक्सिजन ?

राजविराज, ३ जेठ । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रणजित कुमार झाले अक्सिजन पूर्ति गराउन पहल गर्न सबैमा अपिल गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत अस्पतालमा अक्सिजन अभाव हुनसक्ने सम्भावना व्यक्त गर्दै अक्सिजन पूर्ति गराउन पहल गर्न सबैमा अपिल गरेका हुन् ।

यसअघि अस्पतालमा दुहबी डिपोबाट अक्सिजन पूर्ति हुँदै आएको थियो । तर सो डिपोले अक्सिजन भर्न नमानेपछि अक्सिजन अभाव हुनसक्ने सम्भावना देखिएको मेसु डा.झाले बताए । यद्यपी, वैकल्पिक सबै माध्यमको खोजी भइरहेको उनको पोष्टमा छ ।

अब कति समयसम्म धान्ला अक्सिजन ?

भोली (मंगलवार) दिउँसो १२ बजेसम्ममा अक्सिजन सकिसक्ने मेसु झाले बताए । हाल सो अस्पताल मातहतमा रहेको एचडियु, आइसोलेसनसहितका कक्षमा ५८ जना संक्रमित उपचाररत छन् । ‘ती संक्रमितमध्ये अधिकांशको अक्सिजनकै सपोर्टमा उपचार हुँदैछ’ उनले मधेशलाइभलाई भने–‘भोली दिउँसो १२ बजेसम्म पनि अक्सिजन परिपूर्ति भएन भने जटिल समस्या आइहाल्छ ।’

उनका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० अक्सिजन सिलिन्डर खपत हुँदैछ । ‘दुहबी डिपोमा अन्य अन्य ठाउँको धेरै सिलिन्डर थन्किएको छ’ उनले भने–‘अब त्यहाँबाट तीन दिनपछि मात्रै अक्सिजन उपलब्ध गराउने भनिएपछि हामी समस्यामा परेका हौं, यद्यपी अक्सिजन पूर्तितर्फ प्रयास भइरहेको छ ।’

के भन्छन् सिडिओ ?

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले अस्पतालमा अभाव हुनुभन्दाअघि नै अक्सिजन आपूर्ति गराउन पहल भइरहेको प्रतिक्रिया दिए । ‘त्यहाँको डिपोमा केही प्राविधिक समस्या देखिएको छ’ उनले भने–‘त्यहाँका सिडिओ सा’बसँग पनि मैले कुरा गरे र रातिसम्ममा अक्सिजन परिपूर्ति भइसक्ने गरी हाम्रो कुरा भएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस