प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा उत्रिए नागरिक, सुरक्षा निकाय ‘हाई अलर्ट’मा

जनकपुरधाम  । मन्त्रिपरिषद्को सिफारिसमा मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीति तातेको छ ।

कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भएको बेला प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको संविधानविद्हरूले बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक सडकमा आउँन थालेका छन् ।

कोरोना भाइरसको कारण निषेधाज्ञा जारी रहेकै बेला विभिन्न जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन हुन थालेका छन् ।

जनता समाजवादी (जसपा) बाबुराम भट्टराई र उपेन्द्र यादव समूहका कार्याकर्ताले धरानका विभिन्न  ठाउँमा पुत्ला दहन गरेका छन् ।

विभिन्न जिल्लामा राजनीतिक दलहरूले प्रधानमन्त्रीको कदमको विरोधमा आन्दोल गर्ने अनुमान गर्दै सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ ।

नेपाल प्रहरीका एक उच्च अधिकारीले शुक्रबार रातिदेखि नै हरेक जिल्लाका प्रहरी अधिकारीलाई सर्तक रहन निर्देशन भएको बताए । नेपाली सेना र सशस्त्र प्रहरी बलसमेत हाई अलर्टमा रहेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेको यो दोस्रो पटक हो । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेलगत्तै राष्ट्रपतिले त्यसलाई सदर गर्दै २६ कात्तिक र ३ मंसिरमा गरी दुई चरणमा निर्वाचनको घोषणा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएको समयमा परेका दुवै दाबी खारेज गरेलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस