उपेन्द्र यादवले ठाकुर-महतो समूहका नेताहरूलाई सोधे स्पष्टीकरण

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने भएको छ ।

शनिबार अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकबाट पार्टी निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउन लागिपरेको भन्दै ठाकुर समूहका सांसददेखि नेताहरूलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोध्ने निर्णय भएको कार्यकारिणी सदस्य रेणु यादवले जानकारी दिइन्।

त्यस्तै पार्टीको निर्णय विपरीत संसदीय दलको नेता गठन गरिएको भन्ने कुरालाई पनि यादव समूहले गलत रहेको ठहर गरिएको छ। ५१ सदस्यीय कार्यकारिणी समितिको बैठकमा ३० जना भौतिक रुपले उपस्थित रहेको तथा २ जना भर्चुअल रुपमा जुम बैठकमा सहभागी भएको उनले बताइन् ।

जेठ ४ गते अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए । तर शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । तर लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र निर्धारित मितिमा नै बैठक हुने विज्ञप्ति जारी गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस