महामारीमा त्रिविले विद्यार्थीलाई दुःख दिने काम गर्योः विद्यार्थी नेताहरु

राजविराज । कोभिड–१९ महामारीका मुलुकमा निषेधाज्ञा जारी रहेको बेला त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा फारम भराउन गरिएको निर्णयले विद्यार्थीहरु समस्यामा परेको भन्दै विद्यार्थी संगठनहरुले निर्णय फिर्ता गर्न माग गरेका छन् ।

आधा दर्जन विद्यार्थी संगठनका नेताहरु आज राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा पुगेर समस्याबारे ध्यानाकर्षण गराएका हुन् । ‘यो निर्णयले विद्यार्थीलाई सरासर दुःख दिने काम भएको छ’ समाजवादी विद्यार्थी युनियनका श्याम कुमार यादवले भने–‘अहिले महामारी नियन्त्रण गर्न सप्तरीसहित मुलुकभर निषेधाज्ञा जारी गरिएको छ भने धेरै जसो स्थानमा बैंक पनि बन्द नै रहेकाले विद्यार्थीलाई फि र फारम वापतको बुझाउन समस्या भइरहेको छ ।’

यो निर्णयअनुसार यस्तो बेला पनि विद्यार्थीहरुलाई क्याम्पस र बैंक पुग्नुपर्ने बाध्यता निम्तियाएको उनले बताए । ‘महामारीमा विद्यार्थीहरु क्याम्पस र बैंक दौडधुप गर्दा पनि बैंक पनि बन्द नै रहेकाले काम नहुने र दुःख मात्रै पाउने हाम्रो ठहर छ’ उनले भने–‘त्यसैले यो निर्णय फिर्ता हुनुपर्छ ।’

सोही विषयहरुमा क्याम्पसस प्रमुखलाई ध्यानाकर्षण गराएको उनले बताए । ‘क्याम्पस प्रमुख पनि आफुहरुको कुरामा सकारात्मक नै हुनुहुन्छ, समग्र विषयमा छलफल गर्ने उहाँले प्रतिवद्धता पनि जनाउनुभयो’, विद्यार्थी नेता यादवले भने ।

त्रिविले जेठ ९ गते सूचना जारी गर्दै जेठ २० गतेसम्मको समय तोकेर स्नातक तह प्रथम वर्षको परिक्षा फारम भराउन लागेको हो । सोही अनुसार महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि ११ गते सूचना निकालेर फारम भर्न आह्वान गरेपछि विद्यार्थी संगठनको ध्यान पुगेको छ ।

अखिलका रञ्जित मण्डल, नेविसंघका दिपक यादव, राष्ट्र विद्यार्थी संघ महेश यादव लगायतका विद्यार्थी नेताहरुले क्याम्पस प्रमुख यादलाई ध्यानाकर्षण गराएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस