यास् चक्रवातको प्रभावः प्रदेश दुईसहितका ठाउँमा सोमबारसम्मै वर्षा हुने

जनकपुरधाम, १५ जेठ । देशभर यास् चक्रवातको प्रभाव अझैं कायमै रहेको छ । जसका कारण दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट उत्पन्न भएको चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । लगातार भएको वर्षाका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएको छ ।

लगातार पानी पर्दा नदी खोलाहरुमा पानीको तह बढेको र बाढीसमेत आएको छ । धेरै पानी परेका स्थानमा पहिरो र डुबानको खतरा बढेको छ । अझै सोमबारसम्म निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारसम्म अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी पर्नुका साथै हावाहुरी र हिमपात हुने महाशाखाले जनाएको छ ।

कस्तो रहला आजको मौसम ?

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले चट्याङ्ग, हावाहुरी, पहिरो, बाढी, जमिन कटान आदिबाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस