बिरामीको उपचारमा लापर्बाही नगर्न उच्च अदालतको आदेश

जनकपुरधाम । कोरोना संक्रमितको उपचारमा हेलचेक्र्याइँ नगर्न उच्च अदालत जनकपुरले प्रदेश २ को मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई आदेश दिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामलाई विपक्षी बनाई अधिवक्ता राजकुमार महासेठले नागरिकले सहज स्वास्थोपचारको मागसहित दिएको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुरलगायत अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा लापरवाही नगर्न आदेश दिएको हो।

उच्च अदालत जनकपुरका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पीपीई, अक्सिजन, भेन्टिलेटर, मास्क, औषधि आदि हुँदाहुँदै अस्पतालमा भर्ना नलिई निजी अस्पतालमा रेफर नगर्न भनेको छ।

प्रादेशिक अस्पतालमा कोभिड बिरामीका लागि कति बेड छुट्याइएको छ, कति र कुन स्तरका स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ, अस्पतालले दैनिक कति बिरामीको उपचार गर्दै आइरहेको छ, कति बिरामी कोभिडको उपचार गरेर संक्रमण मुक्त भएका छन् लगायत विवरण प्रत्येक हप्ता बुझाउनसमेत अदालतले भनेको छ।

अदालतले मागेका विवरणसहित प्रदेशको मुख्यन्यायाधिवक्ताको कार्यालय वा सरकारी वकिलको कार्यालयमार्फत १५ दिनभित्र अदालतमा बुझाउन आदेश दिएको हो।

Author:



क्याटोगरी छान्‍नुहोस