जनकपुरधाम, २० जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चुरेको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात गर्ने सरकारी नीति प्रदेशलाई मरुभुमि बनाउने योजना रहेको आरोप लगाएका छन् । उनले आज विज्ञप्ति जारी गर्दै सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे प्रदेश २ को रक्षाकवज रहेको बताए ।
‘यस प्रदेशको जनता वर्षेनी बाढी–पहिरो, पानीको समस्या र कृषि उपज समेतको समस्याबाट प्रतारित हुँदै आएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ । कमजोर भू–बनौटका कारण यहाँका ढुँगा, गिटी निकालियो भने नदीको बहाव तीव्र हुने र तीव्र बहावले बगाएर ल्याउने बालुवा मधेशमा थुप्रिदै जाने प्रायः निश्चित नै छ ।’
संघ सरकारको यो अदुरदर्शी नीतिले यसका सबै प्राकृतिक सम्पदाले आफ्नो वासस्थान गुमाउने निश्चित रहेको विज्ञप्तिमा छ । ‘चुरे क्षेत्र बालुवा गिट्टीको स्रोत मात्र नभई प्राकृतिक सम्पदामा समेत धनी छ । यहाँको प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकोले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदाले आफ्नो वासस्थान गुमाउने निश्चित छ ।’
सो नीति सच्याउन माग गर्दै मुख्यमन्त्री राउतले तत्काल सो कार्य नरोकिए तराई–मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय बताए ।