जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीसहितका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

जनकपुरधाम, २१ जेठ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष र नेकपा एमालेबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा थपिएका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउनुभएको छ ।

पुनर्गठित मन्त्रिमण्डलमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसपाबाट वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् । राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी विकास, शरतसिंह भण्डारीलाई उर्जा, अनिल झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी, विमल श्रीवास्तवलाई श्रम, एकवाल मियाँलाई वन, चन्दा चौधरीलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक र उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको छ । चन्द्रकान्त चौधरीलाई उर्जा राज्यमन्त्री र रेणुका गुरुङलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा पनि व्यापक परिर्वतन गरेका छन् । वहालवाला मन्त्रीहरुमा अर्थमन्त्री विष्णु पौडेल, न्याय तथा कानुनमन्त्री लिलानाथ श्रेष्ठ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ बाहेक अरु सवैलाई विदा गरिएको छ ।

अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ भने रघुविर महासेठलाई पनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाइएको छ । यस्तै शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बन्नुभएको छ । गृह, रक्षा, सञ्चार, सामान्य प्रशासन, कृषि, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने प्रधानमन्त्रीले आफैंसंग राखेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस