महन्थ–राजेन्द्र पक्षभित्र असन्तुष्टि, मन्त्री बन्न खोज्नेको लर्को !

जनकपुरधाम । सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन् ।

सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन् । अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे। बाँकी तीनजना राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए । यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा जाने इच्छा व्यक्त गर्दागर्दै पनि मौका पाएनन् ।

सरकारमा जान नपाएपछि उनी निकै रुष्ट बनेको स्रोतको भनाइ छ। तथापि राजकिशोरनिकट जसपाका केन्द्रीय सदस्य राहुल यादवले भने तत्काल सरकारमा जाने चाहना उनले नदेखाएको बताए । ‘सर्वोच्च अदालतको निर्णयपछि सरकारमा जाऔं भन्ने उहाँ (राजकिशोर यादव) को अडान थियो तर नेता महतोलगायतले मान्नुभएन,’ राहुलले भने, ‘त्यसैले उहाँ आफ्नै खुसीले सरकारमा नजानुभएको हो ।’ स्रोतका अनुसार ठाकुर–महतो पक्ष सरकारमा गएपछि राजकिशोर सम्पर्कमा छैनन् ।

उनले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया पनि व्यक्त गरेका छैनन्। सरकारमा सहभागी भएको भोलिपल्टै पूर्वराजपाको कार्यालय बबरमहलमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा पनि उनी उपस्थित भएनन्। उक्त कार्यक्रममा ठाकुर–महतो पक्षका अरू शीर्ष नेता भने सबै उपस्थित थिए ।

ठाकुर–महतो पक्षका अर्का सांसद प्रमोद साह पनि सरकारमा सहभागी हुन नपाउँदा असन्तुष्ट छन् । ‘मलाई जनताले विश्वास गरे तर पार्टीका नेताहरूले भने विश्वासै गरेनन्,’ साहले भने, ‘प्रतिनिधिसभाको टिकट दिँदा पनि पूर्वराजपाले तीनवटा वडामात्रै जितेको ठाउँमा मलाई टिकट दिइयो, त्यो पनि मनोनयन दर्ता गर्ने अन्तिम मितिको अघिल्लो दिन राति १२ बजे मात्रै ।’

मन्त्री हुन उपेन्द्र यादव पक्षका पाँचजना सांसद विमल श्रीवास्तव, उमाशंकर अरगरैया, रेणुका गुरुङ, रुही नाथ र कल्लुदेवी विश्वकर्मा ठाकुर–महतो कित्तामा पुगेका थिए । ठाकुर–महतो कित्ताबाट महतोलाई संसदीय दलको नेता चयन गर्ने माइन्युटिङमा उनीहरूले हस्ताक्षर पनि गरे। तर उनीहरू पाँच सांसदमध्ये रुही र कल्लुदेवीले मन्त्री हुने अवसर पाएनन् । उनीहरू पनि असन्तुष्ट रहेको स्रोतको भनाइ छ । आजको नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780