सिरहामा एक गर्भवती महिलालाई जलाएर हत्या, पति पक्राउ

लहान। सिरहाकाे धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा एक गर्भवती महिलाको जलाएर हत्या भएको छ ।हत्याको आराेपमा उनकै पति पक्राउ परेका छन् ।

गत शुक्रबार राति दीपेन्द्र चौधरीले अाफ्नै गर्भवती पत्नी ३० वर्षीया पूजा चौधरीसँग रक्सीका लागि पैसा मागेका थिए । तर, पैसा नदिँदा उनले पूजामाथि पेट्रोल खन्याएर आगो लगाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जलेर गम्भीर घाइते भएपछि पूजालाई राति नै दीपेन्द्र र सासूले उपचारका लागि लहानस्थित कामना नर्सिङ होम पुर्‍याएका थिए । उनको प्राथमिक उपचारपछि उपचारको लागि विराटनगरस्थित नोबेल हस्पिटलमा भर्ना लगे । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो । काठमाडौंतर्फ लैजाने क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले जनाएको छ ।

उनका अनुसार दीपेन्द्रलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस