राजविराजः मोवाइल पसलमा लाखौंको चोरी, सिटी चढेर पुगे चोर !

राजविराज, २५ जेठ । सप्तरी प्रहरीले राजविराजमा रहेको एक पसलबाट मोवाइल चोरी गरेको आरोपमा तीन जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका–५ का महेश कुमार यादव र सोही ठाउँका २१ वर्षीय राम दास यादव तथा राजविराज नगरपालिका–६ का १९ वर्षीय सुभाष यादव रहेका छन् ।

सुभाषको कोठामा रहेको खाट मुनिबाट चोरी भएको १० थान मोवाइल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । उनका अनुसार पसलमा जडान गरिएको सिसि क्यामेरामा देखिएको दृश्यको आधारमा उनीहरुलाई पक्राउ गरिएको छ ।

तीनै जनामाथि चोरी मुद्दामा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद भई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।

सिटी रिक्सा चढेर पसलसम्म पुगे

गत आइतवार विहान पौने ३ बजेतिर राजविराज–६ का राधे श्याम कुमार साहले वडा नम्वर ४ स्थित सञ्चालन गर्दै आएको मोवाइल पसलको सटरमा लगाइएको ताल्चा फुटाएर उनीहरुले चोरी गरेका थिए । विहान सञ्चालक साहले चोरीको घटनाबारे प्रहरीमा सूचना गराएपछि अनुसन्धान थालियो । अनुसन्धानकै क्रममा पसलमा जडान भएको सिसि क्यामेराको दृश्यको आधारमा उनीहरु पक्राउ परे ।

तीनै जनाले सुभाषले चलाउँदै आएको सिटी रिक्सा चढेर चोरी गर्न पसलसम्म पुगेको पक्राउ परेकाहरुको वयान रहेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।

निषेधाज्ञा कसका लागि ?

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले सप्तरीमा निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा बन्देज लगाइएको छ भने दैनिक तीन घण्टा (दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म) बाहेक हिडडुल गर्न पनि कडाई गरिएको प्रशासनको दावी छ । तर, सिटी चढेर बजार एरियामै चोरी गर्न पुग्दा समेत प्रहरीको नजरमा नपर्नु दुःखद विषय रहेको सर्वसाधारणहरु बताउँछन् । ‘सिटी चढेर केही व्यक्तिहरु बजारको मुटुमै रहेको पसलसम्म पुग्छन् र सटरको ताल्चा फुटाएर चोरी गर्छन् तर प्रहरीलाई केही थाहा नै हुँदैन, सदरमुकाममै प्रहरीले दिएको सुरक्षाको अवस्था यसैले आकलन गर्न सकिन्छ’ पप्पुकुमार यादवले भने–‘त्यसमाथि निषेधाज्ञा छ रे, आखिर निषेधाज्ञा कसका लागि ?, त्यसैले सुरक्षाको विषयमा प्रहरीले गम्भीरता देखाउनु आवश्यक छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस