बाढी नियन्त्रण गर्न पछि हट्यो खाँडो नदी व्यवस्थापन आयोजना

राजविराज, ३१ जेठ । वर्षेनी बाढीले जनधनको क्षति खेप्दै आएका सप्तरीवासी यस वर्ष पनि मनसुनसँगै सुरु भएको वर्षाले त्रसित रहेकै बेला खाँडो नदी व्यवस्थापन आयोजनाले बाढी नियन्त्रण गर्न पछि हटेको छ ।

जनताको समस्या हेरेर तत्कालीन सिँचाइ मन्त्री उमेशकुमार यादवको विशेष पहलमा आर्थिक वर्ष २०७२/०७३ मा खाँडो नदी नियन्त्रण आयोजनाको कार्यालय स्थापना भएको थियो । आयोजनाको डिपिआर अनुसार ०७८/०७९ सम्म खाँडो खोला सकिनुपर्ने हो । तर, अन्तिम वर्षतिर आएर आयोजनाले स्थानीय तहहरुलाई पत्राचार गर्दै यस वर्षको बाढी जन्य विपद् व्यवस्थापन गर्न असमर्थ रहेको भनेपछि बाढी नियन्त्रण गर्न पछि हटेपछि सप्तरीवासीमाथि थप बाढीको जोखिम बढेकेको छ ।

पत्रमा लेखिएको छ, ‘भखरै यस कार्यालयको आव ०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रममा आपतकालिन नदी नियन्त्रणतर्फ बजेट छुट्याइएको छैन् । यस वर्षको मनसुन सुरु हुनै लागेको र यस वर्ष अन्य वर्षहरुभन्दा बढी नै वर्षा हुने साथै लामो समय मौसम विज्ञान विभागको प्रक्षेपण रहेको सन्दर्भमा विगत वर्षहरुभन्दा यो वर्षको स्थिती जटिल हुने देखिन्छ । यस्तो अवस्थामा आपतकालिन नदी नियन्त्रण सम्बन्धी बजेट कटौती हुँदा बाढी जन्य विपद् व्यवस्थापन कार्य गर्न खाँडो नदी व्यवस्थापन आयोजना राजविराज, सप्तरी असमर्थ भएको व्यहोरा अनुरोध छ ।’

आयोजनाले बजेट व्यवस्थापन गराउनका लागि आवश्यक सहयोग गरिदिन र बजेट व्यवस्थापन नभएसम्म आ–आफ्नो क्षेत्रमा बाढी नियन्त्रणतर्फ कार्य सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ ।

सो नदीको बाढीले राजविराजका केही वडासहित, रायपुर, पकरी, दिघवा, तोपा, लौनियाँ, सकरपुरा, कोइलाडी, तिलाठी लगायतका बस्तीहरु उच्च जोखिममा रहने गरेको छ ।

के भन्छन्, पूर्व सिंचाई मन्त्री यादव ?

सप्तरीवासी समेत रहेका पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले आपतकालिन नदी नियन्त्रण शिर्षकको बजेट कटौती गर्ने सरकारी निर्णय सरासर गलत रहेको बताए । ‘आपतकालिन नदी नियन्त्रण शिर्षकको बजेट कटौती भएको कुरा जानकारीमा आयो, जसअनुसार खाँडोको मात्रै होइन सबै जसो आपतकालिन नदी नियन्त्रणतर्फको बजेट आएको छैन् र यो सरासर गलत हो’ उनले मधेशलाइभलाई भने–‘नकाट्नुपर्ने बजेट काटिएको छ, यो बजेट ल्याउनमा सबैले सहकार्य गर्नुपर्दछ । खासगरी अहिले सत्तामा रहेकाले यसमा विशेष पहल गर्नुपर्ने जरुरी छ ।’

सत्तामा रहेकालाई जनताको समस्या बुझेर आपतकालिन नदी नियन्त्रणतर्फको बजेट पठाउनुपर्नेमा गम्भीरता देखाउनुपर्ने उनले बताए । ‘अन्यथा जनता बाढीको चपेटामा परे सत्ताधारीहरुलाई कालोमोसो दल्ने निश्चित नै छ’ उनले भने–‘सो कार्यमा म पनि जनतासँगै हुन्छु, मन्त्री बनेकाहरु समयमै होस् पुर्याउँदा राम्रो हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस