राजगढमा गाउँसभाः जनप्रतिनिधिलाई नै सहभागी गराइएन

राजविराज, ४ असार । सप्तरीको राजगढ गाउँपालिकामा आज (शुक्रवार) छैंठौ गाउँसभाको आयोजना गरिएको छ । सो सभाबाट निती तथा कार्यक्रम पारित भएको छ भने आगामी ७ गते अर्को बैठक राखिएको छ ।

सो बैठकबाट बजेट पारित गर्ने कार्यक्रम रहेको छ । तर, अर्कोतिर भने गाउँसभा सहभागी नगराएको भन्दै जनप्रतिनिधिहरुले विज्ञप्ति नै जारी गरेर सभाको विरोध गरेका छन् । वडा नम्वर २ का वडाध्यक्ष ललित प्रसाद सिंहले आजै विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले आफुसहितका जनप्रतिनिधिलाई सभामा सहभागी हुनबाट वञ्चित गराएको आरोप लगाएका हुन् ।

सभामा प्रवेश गर्नुअघिका कार्यपालिकाको निर्णयसहितका सूचनाहरु माग गर्दा सूचना नदिएको वडाध्यक्ष सिंहले जारी गरेको विज्ञप्तिमा छ । ‘गाउँसभामा प्रवेश गर्नुअघिको कार्यपालिको निर्णय र विभिन्न समितिहरुको माग गर्न यसै वडाका वडा अध्यक्ष ललित प्रसाद सिंह, वडा सदस्यहरु फुल मोहम्मद साह र शम्भु पण्डित जाँदा गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत रमेश कुमार यादव ज्यूले हामी निर्णय उपलब्ध गराउँदैनौं तपाई अदालत जानुस् भनि रुखो जवाफ दिई हामीलाई गाउँसभामा समेत भाग लिनबाट वञ्चित गराइयों ।’

प्रमुख प्रशासकीय अधिकृत यादवले सभामा सहभागी हुन वकायदा चिठ्ठी काटेरै जानकारी गराइएको दावी गरे । ‘उहाँलाई चिठ्ठी काटेर जानकारी गराएको छु, उहाँ आउनु पनि भयो तर सभामा सहभागी हुनु भएन, अन्य आरोपहरु निराधार हो’, उनले मधेश लाइभलाई भने ।

उता, गाउँपालिका अध्यक्ष परमानन्द यादवले एक जना वडाध्यक्ष बाहेक सबै सहभागी भएको बताए । ‘उहाँ आएर पनि सहभागी हुनु भएन, अन्य पाँच वडाध्यक्षहरु सहभागी हुनु भएकै हो’ उनले भने–‘हामीले सबै कुरा कानूनअनुसार नै गरेको हो, अब एक जना आएन भने सभा नै नगर्ने कुरा पनि त भएन नि ।’

Author:



क्याटोगरी छान्‍नुहोस