कक्षा १२ को परीक्षा फरक मोडालिटीमा लिइने

जनकपुरधाम, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले फरक मोडालिटीमा कक्षा १२ को अन्तिम परीक्षा लिने गृहकार्य थालेको छ । भदौ महिनासम्ममा गत वर्षभन्दा फरक मोडालिटीमा परीक्षा लिने गृहकार्य थालेको हो । अझैं कोभिड–१९ को संक्रमण नियन्त्रणमा नभएका कारण केही समयसम्म स्थिति हेरेर मात्रै निर्णय लिइने बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारी बारेमा छलफल थालिने बताए । उनले भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र गत वर्षभन्दा फरक मोडालिटीमा परीक्षा हुने बताए ।

कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि पुरानै मोडेलबाट परीक्षा लिने बोर्डको तयारी छ । कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ ।

विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटोसमेत खुल्ने भएकाले कक्षा १२ मा परीक्षा लिनैपर्ने अवस्था रहेको जनाइएको छ । बोर्डले गत जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोनाका कारण स्थगित गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस