चुडामणी शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, १ अर्ब ३३ लाख विगो दाबी

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत काठमाडौँमा बुधबार आयोगले मुद्दा दायर गरेको हो ।

तीनजनाबाट विगोवापत १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरो पपत्र दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा छ । उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पु¥याई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि आएको हुँदा प्रतिवादीहरुलाई भ्रष्टाचार प्रतिवादीहरु लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजस्व विभाग) को उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले प्रतिवादीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो १ अर्ब तेत्तीस लाख २० हजार ३ सय पचासी रुपैयाँ कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई विशेष अदालत ऐन, २०५९ को दफा ९ समेतको आधारमा आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस