कोरोना संक्रमण दर बढेपछि मोरङमा निषेधाज्ञामा थप कडाइ

बिराटनगर । मोरङमा असारको तेश्रो सातादेखि स्थिर रहेको कोरोनाको संक्रमण दर पछिल्लो समय बढेको छ । संक्रमण दरमा बढोत्तरी भएसँगै मोरङ प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न थालेको छ ।

मोरङ प्रशासनले शुक्रबारदेखि लागु हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी बजार तथा पसल बेलुका ६ बजेदेखि बन्द गर्न थालिएको छ । सीमा वारपारमा पनि निगरानी बढाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी सीमा क्षेत्रमा मानिसको आवतजावतमै रोक लगाइएको हो ।

भारतसँगको मुख्य सीमा नाका रानी लगायत सहायक नाकाहरूमा प्रहरी परिचालन गरी विशेष कामबाहेक नेपालीलाई भारत प्रवेश गर्ने र भारतीयलाई नेपाल प्रवेशमा पूर्ण रोक लगाइएको छ । भारतीयहरुलाई नेपाल प्रवेश गर्न पीसीआर परीक्षण रिपोर्टलाई अनिवार्य गरिएको छ । पीसीआर परीक्षण गरेको रिपोर्ट नभए वा पीसीआर परीक्षण गरेको ७२ घण्टाभन्दा बढी भएमा नाकामै त्यस्ता व्यक्तिको एन्टिजेन परीक्षण गरेरमात्र नेपाल प्रवेशको अनुमति दिने व्यवस्था मिलाइएको छ ।

विराटनगर महानगरपालिकाले रानीमा मेडिकल अधिकृतको नेतृत्वमा चिकित्सकको टोली परिचालन गरी भारतबाट आउने नागरिकहरूको स्वास्थ्य परीक्षण एवं एन्टिजेन परीक्षणलाई अनिवार्य गरेको छ ।

रानी नाकामा रहेको हेल्थ डेस्कका इन्चार्ज एवं मेडिकल अधिकृत डा. कमलकिशोर यादवका अनुसार हेल्थ डेस्कका कर्मचारीले नेपाल प्रवेश गर्ने भारतीय नागरिकहरुको पूर्ण परिचय खुल्ने लगत राख्ने गरेका छन् ।

गत वैशाखदेखि साउन ९ गतेसम्म सो नाकाबाट २ हजार २२३ जना भारतीय नागरिक नेपाल प्रवेश गरेको उनले जानकारी दिए । जसमा ८३ जनाको एन्टिजेन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूलाई भारतीय प्रहरीको समन्वयमा भारत फर्काइएको छ । साउन लागेपछि दैनिक २५ देखि ३० जना भारतीय नागरिक नेपाल प्रवेश गर्ने गरेका छन् । उनीहरुमध्ये धेरैजसो मोरङ र सुनसरीका विभिन्न उद्योगमा काम गर्ने सिलसिलामा तथा कतिपय भने मेडिकल कलेजमा अध्ययनका लागि नेपाल आएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस