जनप्रतिनिधि र कर्मचारी अझैं फरार, वडा सचिव छुटे

राजविराज, १९ भदौ । सप्तरीमा सामाजिक सुरक्षा भत्ता शिर्षकबाट एक करोडभन्दा बढी रुपैयाँ अनियमितता गरेको आरोप लागेका दुई जना जनप्रतिनिधि र एक जना कर्मचारी अझैं फरार छन् ।

डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव विनोद ठाकुरले जनप्रतिनिधिसँग मिलोमतो गरी सरकारी कागजात, छाप र नागरिकता किर्ते गरी अनियमितता गरेको भन्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा परेको थियो ।

अदालतबाट भएको आदेशअनुसार वडा सचिव ठाकुरलाई गत साउन २४ गते नै पक्राउ गरिएको थियो । यद्यपी, अन्य आरोपीहरु सोही वडाका वडा अध्यक्ष रहमान मियाँ र वडा सदस्य बेचन यादव तथा खरिदार जगदिश यादव फरार छन् । ‘उनीहरुको खोजी कार्य जारी छ’ सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले भने–‘उनीहरुलाई नियन्त्रणमा लिइएसँगै आवश्यक कानूनी प्रक्रिया अघि बढाइनेछ ।’

उनका अनुसार उनीहरुमाथि मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता वापत रकम उठाएको आरोप छ भने एउटै व्यक्तिको फरक–फरक नागरिकता बनाएर भत्ता उठाएका छन् । केहीको नागरिकतामा पनि उमेर बढाएर सामाजिक सुरक्षा भत्ता वापतको रकम उठाएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

आर्थिक वर्ष २०७४/०७५ देखि नै सो वडाको ७८ जनाले एक चौमासिकमा ९ लाख ३६ हजार बुझेका छन् । यसरी पछिल्लो चार आर्थिक वर्षको १२ चौमासिकमा १ करोड १२ लाख ३२ हजार निकासा भएको देखिन्छ ।

ठाकुरसहितकाले मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता वापत रकम निकासा गरेका छन् भने एउटै व्यक्तिको फरक–फरक नागरिकता बनाएर पनि भत्ता रकम निकासा गरिएको छ । केहीको नागरिकतामा पनि उमेर बढाएर सामाजिक सुरक्षा भत्ता निकासा गरिएको छ ।

वडा सचिव ठाकुर छुटे

अदालतबाट भएको आदेशअनुसार गत साउन २४ गते अनियमितताको आरोप लागेका वडा सचिव ठाकुरलाई पक्राउ गरिएको थियो । तर, अनुसन्धान पूरा नभएकाले सरकारी वकिल कार्यालयको निर्देशनमा ठाकुरलाई तत्कालको लागि छाडिएको गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

‘बढी समय भइसकेको र अन्य व्यक्तिहरु पनि पक्राउ पर्न नसकेको अवस्थामा ठाकुरलाई सरकारी वकिल कार्यालयको निर्देशनमा छाडेका छौं’ उनले भने–‘फरार रहेका अन्यलाई पनि पक्राउ गरेसँगै थप अनुसन्धान अगाडी बढाइनेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस